वीरगञ्ज । वीरगञ्जमा भारतबाट आएका तीन नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
कोरोना भाइरसको विश्वभरको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले पनि थप तीज जनामा संक्रमण भएको जनाएको छ । यद्यपि, स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गर्न बाँकी छ ।
वीरगञ्जबाट नमुना संकलन गरी हेटौँडास्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो । त्यसपश्चात् पुन परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो ।
गत बिहीबार भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी हेटौँडा पठाइएकोमा तीन जनाको प्रारम्भिक रिपोर्ट रेड जोन देखिएपछि पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौँडा प्रयोगशालाका प्रमुख नारायण कार्कीले बताए ।
हेटौँडामा तीन जनाको रिपार्ट पोजेटिभ देखिएलगत्तै प्रयोगशालाले वीरगञ्जस्थित नारायणी अस्पताललाई जानकारी गराएपछि वीरगञ्ज–२, छपकैयास्थित जामे मस्जिदमा रहँदै आएका बाँकी समूहलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको बताइएको छ ।
कोरोनाको संक्रमण पुष्टि भएकामध्ये दुई जना उत्तरप्रदेश र एक जना दिल्लीका हुन् । उनीहरु विगत १३ दिनदेखि जामे मस्जिदमा नै रहँदै आएको बताइएको छ । यसअघि सप्तरीमा आयोजित मुस्लिम धार्मिकसभामा सहभागी हुन आएका उनीहरु सोही सायदेखि भारत फर्कन पाएका थिएनन् ।
भारतमा लकडाउनमा कडाइ गरिएपछि मार्च ४ मा फर्किनुपर्ने उनीहरु नेपालमै रोकिएका थिए । घर फर्किनुअघि स्वास्थ्य जाँच गराउँदा आफैँ नारायणी अस्पताल पुगेको बताइएको छ ।
वीरगञ्जमा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । जसमध्ये एक जना निको भइृ घर फर्किएका छन् भने बाँकी आठ जना पनि केही दिनमा डिस्चार्ज हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।












