गोरखा । गोरखाका एक युवकको र्‍यापिड डाइग्नेस्टिक कीट (आरडिटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ ।

बहराइनबाट फर्किएका आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।

निज युवक गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए । सुरुमा सामान्य रहेका उनको आरुघाट गाउँपालिकामा गरिएको र्‍यापिड टेस्टमा एन्टिबडी पोजेटिभ देखिएको हो ।

र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण भने नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ । उनी हाल आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा रहेका छन् । उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ ।

तपाईको प्रतिक्रिया