–नारायण अधिकारी
चितवन । भरतपुर कोरोना (कोभिड १९) प्रयोगशालामा पिसीसआर परीक्षण गर्ने रिएजेन्ट सकिएपछि आजबाट काम रोकिएको छ । यहाँ दैनिक ३५ देखि ४० जनाको पिसीआर परीक्षण हुँदै आएको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टन्ट डा श्रीराम तिवारीका अनुसार एक सातादेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग रिएजेन्ट सकिन लागेकाले माग गरिएको भए पनि प्राप्त हुन नसकेपछि आजबाट काम रोकीएको हो । रिएजेन्ट मागेर तीन पत्र पठाइएको छ ।

हेटौँडास्थित प्रदेश कार्यालयको प्रयोगशालाबाट रिएजेन्ट ल्याउन कर्मचारी पठाइएकोमा त्यहाँ पनि आइतबार बाँकी नमूनालाई पुग्ने मात्र ल्याइएको तिवारीले बताए । परीक्षण हुन बाँकी आठ नमूनालाई मात्र हेटौँडाबाट रिएजेन्ट ल्याइएको उनले बताए ।

परीक्षणका लागि आज भरतपुर कोरोना अस्पतालमा मात्र २० जनाको नमूना सङ्कलन गरिएको छ । रिएजेन्ट उपलव्ध नभएपछि अन्य अस्पतालबाट नमूना सङ्कलन नगरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

आज र भोलि थप हुने नमूना परीक्षणका लागि काठमाडौँ पठाइने छ । नमुना सङ्कलन गरिएकालाइ नतिजा नआएसम्म सम्बन्धित अस्पतालमा राख्ने गरिन्छ । र्‍यापिड डाइग्नोष्टिक टेष्ट भइरहेको छ । त्यसमा पोजेटिभ आउनेलाई पनि पिसीआर गर्ने गरिएको छ ।

चैत २१ गतेबाट सुरु भएको यस प्रयोगशालामा मन्त्रालयले ४०० नमूना परीक्षण गर्ने गरी रिएजेन्ट पठाएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीले रिएजेन्ट अभाव भएको बताए । थप आउनका लागि १÷२ दिन लाग्ने बताइएको छ ।

जिल्लामा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । बाहिरबाट आएका झण्डै ७०० रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले हालसम्म ६०० बढीको परीक्षण भइसकेको बताए ।

त्यसमध्ये तीनजनामा पोजेटिभ देखिएकोमा एक जनामा पुनः पिसीआर परीक्षणमा पनि पोजेटिभ देखिएको छ । एक जनाको नेगेटिभ देखिएको छ । अर्का एक जनाको नतिजा आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया