चितवन । सूचना प्रविधिमा पछि पर्ने शिक्षकहरुले भविष्यमा निकै ठूलो नोक्सानी व्यहोर्नुपर्ने पूर्व श्रोतव्यक्ति रामकृष्ण लम्सालले जनाएका छन् ।
प्रविधिमैत्री शिक्षक समाजले चैत्र २२ गतेदेखि सुुरु गरेको निःशुल्क अनलाइन आइसिटी तालिममा सहभागी भएका पूर्व श्रोतव्यक्ति लम्सालले केही दिनदेखि आफू पनि तालिममा निरन्तर सहभागी हुँदै आएको बताएका छन् । उनले भने, “केही दिनदेखि म आफू पनि नियमितरुपमा तालिममा सहभागी भैरहेको छु, साथै अरु शिक्षकहरुलाई पनि यो अनलाइन तालिम लिनका लागि अनुरोध गर्दछु ।”
अनलाइन तालिमकै क्रममा आज साझापुर माविका कम्प्युटर शिक्षक दुर्गाप्रसाद चौधरीले तालिमको सहजीकरण गरेका छन् । उनको सिकाउने शैलीबाट भर्खर कम्प्युटर प्रविधिमा प्रवेश गरेका शिक्षकहरुका लागि निकै फलदायी भएको सहभागीहरुले जनाएका छन् ।
कठिन समयमा पनि आइसिटीसम्बन्धी सीप सिक्न पाएकोमा निकै खुसी व्यक्त गर्दै काठमाडौँबाट सहभागी एक शिक्षक हेरम्बराज कँडेलले सहजकर्ता चौधरीले निकै सरल तरिकाले सिकाएकोमा धन्यवाद ज्ञापन गरे । आजको तालिममा ८२ जना शिक्षकहरु सहभागी भएका थिए ।
लकडाउन सुुरु भएसँग चैत्र १९ गतेदेखि प्रविधिमैत्री शिक्षक समाज नेपालले निःशुल्क अनलाइन तालिम शुरु गरेको संस्थाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका प्राविधिक संयोजक देवप्रसाद पण्डितले जनाएका छन् ।
बाग्मती प्रदेशका लागि संयोजक पण्डितले जुम एपबाट तालिमको होस्ट गर्दै आइरहेका छन् । आइसिटी तालिम हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने गरेको संयोजक पण्डितले जनाएका छन् ।
लकडाउन अवधिभरि इच्छुक सबै शिक्षकहरुका लागि सुुरु गरिएको निःशुल्क अनलाइन तालिम कार्यक्रम लकडाउनपछि पनि निरन्तर अगाडि बढ्ने प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भूपति बस्यालले जनाएका छन् । तर, लकडाउनपछि संस्थाको सदस्यता लिएका शिक्षकहरुलाई मात्र तालिममा प्रवेश दिइने अध्यक्ष बस्यालले बताए ।
आजको तालिम कार्यक्रम प्रविधिमैत्री शिक्षक समाज नेपाल बाग्मती प्रदेशका वरिष्ठ उपाध्यक्ष कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।












