चितवन । लकडाउनका कारण कतिपय मजदूरलाई दैनिक गुजाराको समस्या परेको भए पनि यहाँका मजदूर भने व्यवसायी बनेका छन् ।
लकडाउनअघि मजदूरीमा लागेका अहिले तरकारी, फलफूल र हरियो मकैजस्ता वस्तुको बिक्री गर्ने व्यवसायमा लागेका छन् । मजदूरले आफैँ ठेला, रिक्सा, साइकल किनेर त्यसमार्फत घरघरमा सामान पुर्याउन थालेका हुन् ।
साइकलमा रु तीन सयको टोकरी (क्रेट) राखेपछि उनीहरुको व्यवसाय सुरु हुने गरेको छ । कालिका नगरपालिका–४ का सोम थापामगर टिप्परका चालक थिए । लकडाउनसँगै टिप्पर चल्न छोडेपछि आजभोलि उनी तरकारी व्यवसायी बनेका छन् ।
पदमपुर क्षेत्रमा उत्पादित तरकारी खरिद गरेर भरतपुर क्षेत्रमा बिक्री गर्नु उनको अहिले दैनिकी बनेको छ । दैनिक रु सात/आठ सय बचाउन सकिने उनको भनाइ छ । जुन तरकारी बिक्री हुन्छ, त्यही तरकारी किनेर ल्याउने गरेको उनले बताए । बिहान दुई/तीन घन्टा समय दिएपछि त्यति कमाई हुने थापामगरको भनाइ छ ।
पदमपुरका सोम थापामगरको घरमा रहेको सानो किराना पसल सामानको अभाव चल्न पाएको छैन तर उनले आजभोलि तरकारीको व्यापार गर्न थालेका छन् । किराना पसलमा नगदमा सामान ल्याएर उधारोमा बाँड्नुभन्दा बिहानको समयमा तरकारी बिक्री गर्दा त्यसले बढी फाइदा हुने गरेको उनले बताए ।
भरतपुर क्षेत्रमा ई–रिक्सा चलाउँदै आएका विष्णु कार्की यतिबेला हरियो मकै बिक्री गर्न व्यस्त छन् । ई–रिक्सा नचलेपछि बिहानै पश्चिम चितवन र गैँडाकोट पुगेर बारीबाटै मकै ल्याएर बिक्री गर्ने गरेको उनले बताए । राम्रो मिहिनेत गरे एकै दिन रु आठ/नौ सय कमाई गर्न सकिने उनले बताए । बिहान दुई/तीन घन्टा खट्दा यति आम्दानी हुने गरेको उनको भनाइ छ ।
नारायणगढमा रहेको महानगर फलफूल तथा तरकारी बजार लकडाउनसँगै बन्द गरिएको छ । जसका कारण स्थानीय उत्पादन उपभोक्तासम्म लैजान समस्या भइरहेका बेला थपिएका यस्ता व्यापारीले घरघरमा तरकारी र फलफूल पुर्याउन थालेपछि उपभोक्ता लाभान्वित भएका छन् भने स्थानीय उत्पादनले बजार पाएको छ ।
सो बजारका प्रबन्ध निर्देशक एवं फलफूल तरकारी थोक व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष थीरप्रसाद धिताल घरघरमा तरकारी बिक्री गर्नेको सङ्ख्या बढेको बताउँछन् । उनका अनुसार कागती, आलु, प्याज, खरबुजाजस्ता केही भारतीय उत्पादन उनीहरुले बेचेको भए पनि अन्य स्थानीय उत्पादनलाई घरघरमा पुर्याउन थालेका हुन् । मजदूरी गर्नेहरुले व्यवसाय गर्न थालेको उनले बताए ।
बजार बन्द रहेका बेला उनीहरुका कारण उपभोक्ताले आवश्यक तरकारी, फलफूल किन्न पाएको धितालले बताए । कतिपयले ठेलामा तरकारी, फलफूल बिक्री गर्ने गरेका छन् । ठेला नहुनेले साइकल पछाडि क्रेट बाँधेर वा डोको झुण्ड्याएर पनि व्यवसाय गरिरहेका छन् ।
अण्डा र जिउँदो कुखुरा घरघरमा पुर्याउनेको सङ्ख्या पनि बढ्दो छ । जिल्लामा एक चरणको राहत वितरणपछि राहत वितरण गरिएको छैन । लकडाउनको समयमा राहतको पर्खाइमा भन्दा गुजारा टार्न व्यवसायमा लाग्नेहरु बढ्दै गएका छन् ।
जिल्लाको कालिका नगरपालिका क्षेत्रमा केरासँगै तरकारी पाइन्छ भने पश्चिम चितवन तरकारीको पकेट क्षेत्र हो । पूर्वी चितवनका विभिन्न क्षेत्रमा पनि तरकारी पाइन्छ । यद्यपि यहाँ बिक्री गर्नेहरुले कालिका नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका उत्पादनलाई बजारमा ल्याउने गरेका छन् ।
हरियो मकै भने गैँडाकोटबाट पनि ल्याउने गरिएको छ । लकडाउनको सदुपयोग गर्न सकेमा जीविकोपार्जन गर्न गाह्रो छैन भन्ने सन्देश यहाँका मजदूरहरुले दिएका छन् । रासस












