काठमाडौँ । नेपालमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएकी एक महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शनिबार बेलुकी अद्यावधिक गरेको विवरणअनुसार ती महिलाको मृत्यु कोरोना भाइरसकै कारण भएको जनाएका छन् ।

ती महिलाको धुलिखेल अस्पतालमा उपचाररार्थ ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालको प्रसूति वार्डमा भर्ना भएकी थिइन् । २४ गते नर्मल डेलिभरी भएपछि २५ गते डिस्चार्ज भएकी थिइन् ।

घरमा पुगेपछि ज्वरो आउने समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो भने त्यहाँबाट धुलिखेल अस्पताल ल्याइएको थियो । धुलिखेलमा उनको कोरोना परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको यो नै पहिलो घटना भएको बताएको छ । नेपालमा शनिबार दुई सैनिक जवानसहित ११ जनामा कोरोना संक्रमण देखिएको छ । यससहित कोरोना संक्रमितको संख्या २८१ पुगेको छ भने ३६ जना निको भई घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया