चितवन । कोरोना भाइरस संक्रमितको व्यवस्थापन माडी नगरपालिकाले आफैँले सुरु गरेको छ । नगरपालिकाले माडी क्याम्पसमा आइसोलेसन कक्ष निर्माण गरी त्यहीँ संक्रमित राख्न थालेको छ ।
नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार त्यहाँ सात संक्रमित रहेका छन् । शुक्रबार सङ्क्रमण पुष्टि भएका आठमध्ये एक जनालाई भरतपुर अस्पताल पठाइएको छ भने सात जनालाई त्यहीँ राखिएको छ । माडी क्याम्पसमा १७ श्ययाको आइसोलेसन तयारी अवस्थामा छ । तेह्र श्यया थप गर्न लागिएको ढकालले जानकारी दिए ।
उनीहरुलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । चिकित्सकसहितको स्वास्थ्य टोली त्यहीँ तयारी अवस्थामा राखिएको छ । माडीको बघौँडा अस्पतालमा दुई शैय्याको भेन्टिलेटरसहितको सघन उपचारकक्ष निर्माण गर्न लागिएको छ । ढकालले भने, “भरतपुरको एक मेडिकल कलेजसँग छलफल भइरहेको छ । केही दिनमै हामी सघन उपचारकक्ष तयार गर्छौं ।”
संक्रमित दीर्घरोगी भएर ज्वरो आएमा भरतपुर अस्पतालको आइसोलेसनमा पठाउने भए पनि अन्यलाई माडीमै राखिने उनको भनाइ छ । सघन उपचारकक्ष बनेपछि सबैलाई माडीमा राखिने उनले बताए । नगरपालिकाले स्वाब परीक्षणका लागि किट आफैँले खरिद गर्न सुरु गरेको छ । पहिलो चरणमा २०० पिसिआर किट खरिद गरिएको उनले जानकारी दिए ।
किट खरिदका लागि रु १० लाख विनियोजन गरिएको छ । ढकालका अनुसार रकम अपुग भएमा थप गरिनेछ । उनले थपे, “हामी सङ्क्रमणमुक्त भएको प्रमाण हुने गरी परीक्षण गराएरमात्र घर पठाउँछौँ ।”
नगरपालिकामा स्थापना गरिएका १२ क्वारेन्टिनमध्ये पाँच वटामा मानिस छन् । त्यहाँ २३४ जना रहेका छन् । नगरपालिकाको तथ्याङ्कअनुसार भारतमा मात्र दुई हजार ८०० माडीवासी छन् । तेस्रो मुलकमा यो सङ्ख्या एक हजार ४०० रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जानकारी दिए । जिल्लामा पहिलोपटक नगरपालिकाले भारतबाट मानिस ल्याएको थियो ।











