चितवन । चितवनको कालिका नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाको शुक्रबार सुरु भएको छैटौ नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकता दिइएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले कोरोना रोगबाट फैलन सक्ने संभावित महामारीलाई रोक्न सम्पूर्ण सामथ्र्य प्रयोग गर्ने बताए । कोरोनाले विश्वनै प्रभावित भएको छ नगर प्रमुख श्रेष्ठले भने–आगामी वर्षका लागि कोरोना नियन्त्रणका साथमा कृषिलाई प्राथमिकता दिइएको छ ।
कोरोनाका कारण ज्यान गुमाएका वा वैदेशिक रोजगारी गुमाई घर फर्किएका नागरिकलाई रोजगारी सिर्जना गर्ने कार्यलाई समेत प्राथमिकता दिइएको नगर प्रमुख श्रेष्ठले बताए । भूमिहीन र विपन्न वर्गका लागि मेयर आवास कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस वर्ष कालिका नगरपालिकाले विपन्नका लागि ४० वटा आवास निर्माण गर्दैछ ।
त्यस्तै कृषि उद्यमलाई प्रोत्साहन गर्न समुदायमा आधारित बजार व्यवस्थापन गर्ने, नगरस्तरीय बिक्री केन्द्रहरु निर्माण तथा सञ्चालन गर्ने, उत्कृष्ट कृषकहरुलाई प्रोत्साहन गरि युवा वर्गलाई व्यावसायिक कृषितर्फ आर्कषित गर्ने नीति अवलम्वन गरिएको छ ।
दुध उत्पादन, माछा, औद्योगिक क्षेत्रको स्थापना र सञ्चालन गरिने नगर प्रमुख श्रेष्ठले बताए । नगरपालिका भित्र रहेका सिन्ती झरना, चित्राम झरना, पर्यटन पदमार्ग, उपरदाङगढी सम्मको हाईकिङ, लटेश्वर महादेव मन्दिर, कालिका मन्दिर, भ्युटावर, भीमवली सामुदायिक पार्क, उदयपुर सामुदायिक पार्क लगायतको पर्यटन स्थलको पहिचान र विकास गर्ने नीति पनि नगरपालिकाले लिएको छ ।
यसैगरी शिक्षा, खेलकुद, संस्कृति प्रर्वद्धन, खानेपानी, स्वास्थ्य तथा लैंगिक समानता र सामाजिक समावेशीकरण, उर्जा, सञ्चार, स्थानीय सडक, पुल, सिंचाई, पूर्वाधार, वातावरण, वन तथा भूसंरक्षण, फोहोरमैला व्यवस्थापन, जलवायू परिवर्तन लगायतका कार्यक्रमलाई समेत आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।
नगर सभामा बोल्दै चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले अहिलेको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नीति, कार्यक्रम र बजेट ल्याउन सुझाव दिए । प्रदेश सभा सदस्य घनश्याम दाहालले जनतालाई उत्पादनसँग जोड्ने, जनतालाई सुरक्षित बनाउने गरि योजना ल्याउनु पर्नेमा जोड दिए ।
नगरपालिकाको छैटौँ नगर सभा आगामी असार १० गतेसम्मका लागि स्थगित भएको छ । नीति तथा कार्यक्रम माथि बजेट सार्वजनिककै दिन छलफल गर्ने गरी सभा स्थगित भएको नगर प्रमुख श्रेष्ठले घोषणा गरे ।












