चितवन । चितवन प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले भरतपुर महानगरपालिका वडा नं २ विक्रम मार्गमा ना ४ प ४४३९ नम्बरको बोलेरो जाँच गर्ने क्रममा लागूऔषध फेनरगन दुई एमएलको २५५ थान, नुफिन दुई एमएलको २५५ थान र डाइजेपाम दुई एमएलको २५५ थान बरामद गरेको छ ।
बोलेरोमा सवार भरतपुर ४ बाह्रघरे वर्ष २१ को अनुज भन्ने भुदत्त परियारलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा लागूऔषध कारोबारमा संलग्न भएका अन्य चार जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।
कारोबारमा संलग्न अन्य चार जनामा भरतपुर ३ नगर वन बस्ने वर्ष २२ को अविनास बोटे, भरतपुर २१ बस्ने वर्ष ३६ को आशिष थापा, वर्ष २२ की कञ्चन उपरकोटी र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका १६ बेल्डिया बस्ने वर्ष १६ की बबिता महतो रहेका प्रहरीले जनाएको छ ।












