चितवन । पूर्वी चितवनको रत्ननगर-१०, बैरियास्थित शान्ति टोलमा भारतबाट फर्किएका पाँच जना थपिएपछि क्वारेन्टाइन पहिलै भरिभराउ भएकै कारण समस्या भएकाे छ । बैरियामा बस्दै आएका उनीहरु केही समयअघि भारत गई सोमबार राति फर्किएका थिए ।
रत्ननगर १० स्थित बैरिया माविको क्वारेन्टाइन भरिएपछि वडाध्यक्ष केशव आचार्यले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न सुझाएका थिए । तर, स्थानीयले कोरोना संक्रमणको त्रासका कारण मंगलबार बिहानै बैरिया माविमै लगेर छाडेपछि पाँच जना बेलुका अबेरसम्म पनि विद्यालयबाहिरै रहेका थिए ।
उनीहरुलाई विद्यालयको क्वारेन्टाइनमै राख्ने व्यवस्था गर्न माग गर्दै स्थानीयले क्वारेन्टाइन घेराउ गरेपछि झडपको स्थिति नआओस् भनेर क्वारेन्टाइनस्थलमा प्रहरी तैनाथ गरिएको छ ।
नेपालीको आवाज अनलाइनले क्वारेन्टाइनको अव्यवस्थाको विषयमा वडाध्यक्ष केशव आचार्यसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल (९८५५०६०१९९) स्वीच अफ रहेको छ । वडाका जिम्मेवार प्रतिनिधिले नै मोबाइल स्वीच अफ गरी बसेकोमा स्थानीयले विरोध गरेका छन् ।












