चितवन । चितवनमा बिहीबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा भरतपुर महानगरका १५ र पूर्वी नवलपरासीका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा भरतपुर–१ का २३ वर्षीय पुरुष, भरतपुर–४ का ३९ वर्षीया महिला, भरतपुर–१० का २ पुरुष र ५ जना महिला गरी ७ जना, वडा नं ११ का ३ महिला, वडा नं १४ का ५५ वर्षीय पुरुष, वडा नंं १६ का ४५ वर्षीय पुरुष र वडा नं १७ का ४५ वर्षीय पुरुष रहेका छन् ।
यस्तै पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका–५ का २८ वर्षीय पुरुष, वडा नं ७ का ६० वर्षीय पुरुष र वडा नं ९ का ६६ वर्षीय पुरुष रहेका छन् ।
चितवनमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गइरहेको छ । बिहीबार बिहानसम्म कुल संक्रमितको संख्या ८६१ पुगेको छ । भरतपुरमा संक्रमितको संख्या ५४० पुगेको छ । यस्तै, रत्ननगर नगरपालिकामा ११२, राप्ती नगरपालिकामा ८८, माडीमा ५२, खैरहनी नगरपालिकामा ५०, कालिका नगरपालिकामा १६ र इच्छाकामना गाउँपालिकामा तीन जना संक्रमित रहेका छन् ।












