चितवन । स्काइलार्क एग्रो अविनास ग्रुप नारायणगढले भरतपुर अस्पतालद्वारा सञ्चालित भरतपुर कोभिड १९ प्रयोगशालालाई एक थान पिसिआर मेसिन सहयोग गरेको छ । ग्रुपका अध्यक्ष गुणचन्द्र विष्टले बिहीबार मेसिन अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र प्रयोगशाला प्रमुख डा नीतु अधिकारीलाई हस्तान्तरण गरे ।

जर्मन कम्पनीको क्यूटावर ८४ स्वचालित पिसिआर मेसिन सहयोग गरिएको हो । ग्रुपले रु ५० लाख हाराहारीको लगानीमा सो मेसिन खरिद गरी भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थितीमा हस्तान्तरण गरेको हो । विष्टले सामाजिक उत्तरदायित्वअन्तर्गत मेसिन हस्तान्तरण गरिएको जानकारी दिए । कोरोना सङ्क्रमण बढ्दै जाँदा ग्रुपले अत्याधुनिक प्रविधिको मेसिन खरिद गरी हस्तान्तरण गरेको उनले जानकारी दिए ।

ग्रुपका निर्देशक टीकाराम पोख्रेलले यस मेसिनले पहिलाको भन्दा चाँडो नतिजा दिन सक्ने बताए । उनले भने “कोरोना सङ्क्रमण वढ्दै जाँदा ।नतिजालाई विश्वसनीय र छिटो गर्नका लागि मेसिन सहयोग गरेका हौ ।”

भरतपुर महानगर प्रमुख दाहालले सरकारी तवरबाट खरिद प्रकृया ढिला हुने भएकाले निजी क्षेत्रको सहयोग अहिलेको अवस्थामा अतुलनीय रहेको बताइन् । अहिलेसम्म महानगरवासीको सहयोगले कोरोना नियन्त्रण सहज भएको बताउँदै उनले महामारीको समयमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।

अस्पताल विकास समितिका अध्यक्ष डा अधिकारीले नतिजा चाँडो निकाल्नका लागि नमुना घान हाल्ने अर्थात आरएनए एक्सट्याक्टर मेसिन मन्त्रालयसँग माग गरिएको जानकारी दिए । अहिले यहाँ भएको पिसिआर मेसिनले एक पटकमा ९६ वटा नमुनामात्र परिक्षण गर्न सकिने भएकाले घान हाल्ने मेसिन आएसँगै दैनिक एक हजार नमुना परीक्षण गर्न सकिने उनले बताए । यो मेसिन आएसँगै दैनिक ५०० नमुना पहिलेभन्दा छिटो परीक्षण गर्न सकिने भएको छ ।

प्रयोगशाला प्रमुख अधिकारीका अनुसार प्रयोगशालाको स्थापनापछि आज सम्म २३ हजारभन्दा बढी नमुना परिक्षण गरिएको छ । जसमध्ये चितवनका १८ हजार रहेको उनले जानकारी दिए । परीक्षण गरिएकोमा १ हजार २ सय संङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १ हजार ८५ चितवनका छन् । हाल प्रयोगशालामा सञ्चालनमा रहेको पिसिआर मेसिन कृषि तथा वन विज्ञान विश्वविद्यालयको हो । नयाँ मेसिन पाएसँगै अस्पतालले विश्वविद्यालयलाई उपकरण फिर्ता गर्न पाउने भएको छ । रासस

तपाईको प्रतिक्रिया