चितवन । चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ । कार्यसमितिका लागि २७ जना र आठ जनाको केन्द्रीय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको छ ।
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिएलए) र नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डिएलए) निर्वाचनका लागि समूह बनाएर नै निर्वाचनमा लागेका हुन् । अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका डा. हरिहर पोखरेल प्रतिस्पर्धामा छन् ।
उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । पिएलएका रामचन्द्र देवकोटा, डिएलएका मुन्ना विक्रम खाती र स्वतन्त्रबाट बद्री गौतम छन् । पिएलए र डिएलएबाट क्रमशः सचिवमा विनोद मिश्र र श्रीराम दवाडी, कोषाध्यक्षमा बद्रीनाथ पण्डित र बलराम पौडेल, सहसचिवमा शोभा भट्टराई र पृथ्वीदेवी सुवेदी छन् । नेतृत्व चयनका लागि १९८ जनाले मतदान गर्ने बारले जनाएको छ ।












