भरतपुर । चितवनका विभिन्न स्थानमा मोटरसाइकल चोरी गर्ने र चोरीका मोटरसाइकल खरिद गर्ने सात जनालाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्लाको भरतपुर महानगरस्थित भाटभटेनी सुपर स्टोर अगाडि, कटहरचोक, नहरचोक, पावर हाउस चोक, विक्रममार्गलगायतका स्थानबाट मोटरसाइकलहरू चोरी भएको घटनाको अनुसन्धानका क्रममा सात जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका ५ घर भई खैरहनी नगरपालिका वडा नं ९ बस्ने २८ वर्षीय विजय चौधरी, करैयामाई ५ घर भई भरतपुर ३ बस्ने १९ वर्षीय राकेश चौधरी, बारा कोल्हवी नगरपालिका ७ का २४ वर्षीय महेश चौधरी, भरतपुर ११ का २६ वर्षीय दिनेश गुरूङ, भरतपुर महानगर बस्ने २५ वर्षीय मनोज दराई पक्राउ परेका छन् । यसैगरी चोरीका मोटरसाइकल किन्ने खैरहनी १२ का २८ वर्षीय अमृत चौधरी र २४ वर्षीय समिर चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले चार मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ भने चोरी गर्न प्रयोग गरिएका औजार र दुई मोटरसाइकलको पाटपुर्जा खोलिएको अवस्थामा फेला पारेको छ ।












