अजित अधिकारी
चितवन । माडी नगरपालिका ५ स्थित मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म गरिने भनिएको बृहत फलफूलखेती लकडाउनका कारण प्रभावित भएपछि मकै खेती गरिएको छ । बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण विश्व समुदाय नै आक्रान्त बनिरहेका बेला यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न ब्यापार ब्यबसाय एबम कृषि क्षेत्रमा नराम्रो संग असर पारेको छ । गत बर्ष अगाडि पौष २१ गते नेपाली आवाज डटकममा प्रकाशित समाचारमा माडीको मगोइ खोलाको किनार हुँदै बृहत् फलफूल खेती गरिने समाचार प्रकाशित भएको करिब साढे दुई महिना पछि नेपालमा लकडाउन सुरु भएको थियो ।

करिब ५० बिगाहा जमिनमा आइडिया फर नेपाल र एन.आर.एण्ड पार्टनर्सको ब्यबस्थापन र लगानी साथै माडी नगरपालिकाको सहकार्यमा विभिन्न जातका बृहत फलफुल खेती बिस्तार गर्न लागिएको हो । तर लकडाउनका कारण बृहत् फलफूल खेती अहिले सो क्षेत्रमा निर्माण हुन सकिरहेको छैन । यस क्षेत्रमा बृहत् फलफूल खेती गर्ने योजना तयार गरियो । योजना बनाएको तीन महिना नपुग्दै लकडाउन भयो ।
भारत, इटली लगाएतका देश बाट ल्याउने भनिएको उन्नत जातका करिब १० प्रकारका हाइटेक जातका मेवा, आँप, लिची, अनार, काजु, सुन्तला, लगाएतका करिब १७ हजार फलफूलका बिरुवाहरु लकडाउनका कारण ल्याउन नसकिएपछि बाध्य भएर मकै खेती गरिएको बृहत् फलफूल खेति बिस्तार तथा कृषि पर्यटन प्रबर्द्धन सहयोग तालिम माडीका फिल्ड म्यानेजर टुकनारायण पौडेलले नेपाली आवाज डटकमसंग बताए । साथै उनले, बिगत लामो समयको लकडाउनका कारण फलफूलखेती गर्न नसकिएपछि मकै खेती गरियो । तर केही समय मकै बालीमा अमेरिकन फौजी किराले आक्रमण गर्यो । र यसको उपचारमा लागियो, उपचार सफल भए, पश्चात् मकैको बिरुवाले नयाँ रुप धारण गरेपछि अहिले आफुँमा आशाको किरण पलाएको पौडेलले बताए । यसैगरी उनले, पहिलेको प्राबधान परिबर्तन भएर बिगतमा ४९ बर्षका लागि माडी नगरपालिका संग लिजमा भाडा दिइने गरि सुरुवात गरिएको समय सिमा अब ३५ बर्ष सम्म रहने बताए ।

यसैगरी उनले, होटल रिसोर्ट सहित २० देखि २५ करोड सम्मको लागतमा संचालन गर्न लागिएको उक्त बृहत् फलफूल खेतिको लागि अहिलेसम्म ५० लाख नदि उकास र अन्य शिर्षकमा खर्च भएको जानाकारी दिए । अहिले सो जग्गामा झन्डै ५ बिगाहमा माछा पोखरी संचालन गरिएको छ । लकडाउनका कारण तत्काल हाइटेक जातका फलफूल उपलब्ध हुन नसकेपछि अहिले केही जग्गामा हाइब्रेड मकै र तोरी खेती गरिएको र सहज बाताबरण भएपछि बाँकी रहेको जग्गामा बृहत् फलफूल खेती गरिने पौडेलले जानकारी दिए । गत बर्ष अगाडि माडीमा प्रथम माडी खिचरा महोत्सवको उदघाट्न गर्न नेकपाका अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आएका थिए । यसैक्रममा उनले, मगोइ खोलाको किनारमा हुन लागेको बृहत् फलफूल खेतीको अबलोकन र सो क्षेत्रमा पर्यटकिय रिसोर्टको समेत शिलान्यास गरेका थिए ।











