चितवन। काेराेना बिरामीको लागि आयुर्वेदिक उपचार प्रभावकारी बन्दै गएकाे देखिएकाे छ । हालसम्म कोरोना भाइरसको कुनै खोप प्रयोगमा आएको छैन जसका कारण विश्वलाई नै हायलकायल बनाएको छ ।
कोरोना भाइरसबाट करोडौँ सङ्क्रमित भएका छन् भने लाखौँले ज्यान पनि गुमाएका छन् । यस रोगको मेडिकल उपचार नभए पनि आयुर्वेद उपचार मार्फत चितवनमा झन्डै २ सय जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार चैतदेखि हाल सम्म आयुर्वेदिक पद्धति मार्फत १९८ जना कोरोना सङ्क्रमितको उपचार गरिएको छ । उनीहरू सबै सङ्क्रमण मुक्त भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर कोपिला अधिकारीले बताइन् ।

उनीहरू रत्ननगरका हुन् । रत्ननगरमा झन्डै ६ सय ५० जनामा सङ्क्रमण देखिसकेको छ । ती मध्ये आयुर्वेदिक पद्धति मार्फत १९८ जनाको उपचार गरिएको थियो । आयुर्वेदकै कारण सबै निको भए भन्ने होइन डाक्टर अधिकारीले भनिन्,‘आयुर्वेद पद्धतिले ७० प्रतिशत निको हुन मद्दत गरेको छ । योग, प्राणायाम, व्यायाम गराउनुका साथै अष्ठोगन्ध, चूर्ण, गुडचु चिया, त्रिकटु चूर्ण, एस्टिमोर चूर्ण , जेष्ठबासदी चूर्ण लगायत आयुर्वेदिक औषधि वितरण गरिएको थियो । आयुर्वेद औषधि प्रयोग गरेकाहरूमा जटिल अवस्था नरहेको डाक्टर अधिकारीले बताइन् ।

औषधि सेवनको २/३ दिनमै स्वास्थ्यमा सुधार आएको पोजेटिभ देखिएकाहरूले बताएको उनको दाबी छ । क्वारेन्टाइनमा रहेकाहरूका लागि स्वास्थ्य केन्द्रले जिल्लाभरनै योग, प्राणायाम गराएको थियो ।
पछिल्लो समय अस्पतालबाट पनि कोरोना सङ्क्रमण देखिन थालेपछि आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेको डाक्टर अधिकारीले बताइन् ।

अस्पताल भन्दा आयुर्वेद केन्द्र सुरक्षित रहेको भन्दै बिरामीहरू आउँछन् डाक्टर अधिकारीले भनिन्,‘यहाँ आउने बिरामीलाई उचित परामर्शसहित आवश्यक औषधि दिने गरेका छौँ । हाल कोरोना पोजेटिभलाई प्राथमिकता दिएर केन्द्रले सेवा दिइरहेको उनले बताइन् ।
भोजन व्यवस्थापन र सङ्क्रमितहरूलाई खुल्ला ठाउँमा राख्न सके कोरोनालाई सजिलै र चाँडै पराजित गर्न सकिने उनको बुझाइ छ । बिना रिपोर्ट बिरामीका आफन्त आउने गरेको भन्दै कोरोना सङ्क्रमण देखिएकाको रिपोर्ट साथमा लिएर आउन डाक्टर अधिकारीले आग्रह गरेकी छन् ।

यसैबीच चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बिहीबार पत्रकारहरुसँग आयुर्वेदिक पद्धतिद्वारा कोरोना रोगको उपचार सम्बन्धमा अन्तरक्रिया गर्नुका साथै औषधि वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया