महेश पाण्डे
चितवन । रत्ननगर उवासंघको वाणिज्य उपाध्यक्षमा आफ्नो उमेदवारी दिएका देवी प्रसाद डल्लाकोटीले आफ्नो हस्ताक्षरनै किर्ते गरिएको बताएका छन् । यहि मंसिर २८ र २९ गते हुने रत्ननगर उद्योग वाणिज्य संघको अधिवेशनमा नेकपा प्यानलबाट वाणिज्य तर्फको उपाध्यक्ष पदमा आफुलाई उठाउने केहि समय अघि नेकपा प्यानलको ३ सदस्य रहेको वार्ता टोलिबाट टुङ्गिएको भएता पनि अन्तिम समयमा आएर मनोनयन दर्ताको दिनमा आफुलाई धोका भएको बताए ।

नेपालीको आवाज डटकमसंग कुराकानी गर्दै डल्लाकोटिले भने “मंसिर २३ गते बेलुका मलाई नेकपा प्यानलको निर्वाचन प्रचार प्रसार कार्यालयबाट फोन गरि फोटो र भरिएको उम्मेदवारी मनोनयन फारम ल्याउन भनियो थियो, जसमा मैले सबै कुरा स्पष्ट रुपमा भरेर दिएको थिए । तर भोलि पल्ट अर्थात मंसिर २४ गते मनोनयन दर्ताको दिनमा मैले भरेको फारममा वाणिज्यको ठाँउमा ठिक लगाएको कोठामा काट्टा गरि उद्योगमा ठिक लगाइएछ । त्यति मात्र नभएर मैले फर्मको नाम डि.के. सप्लायर्स लखेको ठाँउमा त्यसलाई काटेर डल्लाकोटी एण्ड कम्पनी लेखिएछ र उक्त काटिएको ठाँउमा मेरो किर्ते हस्ताक्षर पनि गरिएको रहेछ । जुन मेरो हुदै होईन । त्यहि फारमलाई रत्ननगर उवासंघको निर्वाचन अधिकृतकोमा पेश पनि गरिएको रहेछ । जसको जानकारी मैले पाएपछि पुन मैले वाणिज्य तर्फको उपाध्यक्ष पदको उमेदवारको रुपमा फारम भरी मनोनयन दर्ता गरे ।” उनले हामीलाई उल्टै प्रश्न गर्दै भने “अब तपाई आफै भन्नुस यस्तो किर्ते काम गर्न पाईन्छ ? सल्लाहा एउटा काम अर्को गरेर हुन्छ ?”

डल्लाकोटीले हालको कार्यसमितिमा आफु कोषाध्यक्ष पनि रहेको बताउदै अब कोषाध्यक्षकोनै हस्ताक्षर किर्ते गरिएपछि धेरै प्रश्न उब्जिएको बताए । उनले आफुले कुनै हालतमा वाणिज्य तर्फको उपाध्यक्ष पदको लागि दिएको मनोनयन फिर्ता नलिने बताउदै आफु सोहि पदका लागि निर्वाचन प्रक्रियामा अगाडी बढ्ने बताए ।
हामीले यस बिषयमा रत्ननगर उवासंघको अधिवेशनका निर्वाचन अधिकृत रामकृष्ण अधिकारीसंग बुझ्दा देवि प्रसाद डल्लाकोटीले कानुन बमोजिम वाणिज्य तर्फको उपाध्यक्ष पदमा मनोनयन दर्ता गरेको बताए । उनलाई डल्लाकोटिको मनोनयन पत्रमा किर्ते गरि कागज पेश भएको थियो भनि सोध्दा, त्यो सबै उहाँहरुको प्यानलको कुरा भएको बताउदै मनोनयनको दिनमा प्रक्रिया गत ढंगबाट उहाँले पुन फारम भरि सक्नुभएकाले त्यस बाहेक अरु कुरा आफुहरुले केहि गर्न नसक्ने बताए । उनले केहि अप्ठ्यारा वा बेमेलका कुराहरु भए उहाहरुको आफ्नै प्यानलमा बसेर टुङ्गेला नत्र कानुनी बाटोहरु होलान त्यो उहाँले जान्ने बिषय रहेको बताउदै, आफ्नो काम प्रक्रियागत र नियमसंगत ढंगबाट निर्वाचन गराउने रहेको बताए ।
डल्लाकोटिले रत्ननगरमा उद्योग वाणिज्य संघमा दुई कार्यकाल कार्यसमितिमा रहेर काम गरेका थिए भने हालको कार्यसमितिमा उनि कोषाध्यक्ष रहेका छन् । यस बाहेक उनि लायन्स क्लब अफ चितवन इष्टको वर्ष १७/१८ का अध्यक्ष, नेपाल अडिटर एसोसियसन जिल्ला चितवनको दुई कार्यकाल अध्यक्ष, नेपाल अडिटर एसोसियसन बाग्मती प्रदेश समिति उपाध्यक्ष, डि.के. सप्लायर्सको प्रोपाइटर र डल्लाकोटि एण्ड कम्पनीको सञ्चालक पनि रहेका छन् ।
उनले आफु ब्यवसायीक ब्यक्तित्व भएकाले र उवासंघमा आफु ब्यवसायीक हितका लागि लड्ने चाहाना अनुरुप अगाडी बढेको बताउदै आफु वाणिज्य उपाध्यक्ष पदको उमेदवारी, पछि हट्नका लागि नभै डट्नको लागि भएको बताए ।
उता नेकपा प्यानलमा भने हाल वाणिज्य तर्फको उपाध्यक्ष पदमा भिम नारायण श्रेष्ठको उमेदवारी रहेको छ । नेकपाले उद्योग तर्फको उपाध्यक्ष पदमा डल्लाकोटीलाई राखेको भएपनि अन्तिम समयमा पुरु खनाललाइ सदस्यबाट उपाध्यक्ष पदमा तानेको थियो ।











