चितवन । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) सौराहाको १४ औं बार्षिक साधारण सभा तथा आय व्याय सार्वजनिक कार्यक्रम सम्पन्न भएकाे छ ।
साधारण सभामा बोल्दै रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले कोरोना महामारीका कारण फेष्टिवलको आयव्याय सार्वजनिक गर्न ढिलाइ भएको बताए । खतिवडाले कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी फुड फेष्टिवलको निरन्तरतालाई जोगाउन यस बर्ष सडक फुड फेष्टिवल गर्ने घोषणा पनि गरे ।
उनले सौराहा नजिक रहेको सिसुवार चौरमा हरेक बर्ष आयोजना हुँदै आएको फुड फेष्टिवल यस बर्ष सौराहाको हात्ती चोक देखि गैंडाचोक सम्मकाे मुख्य बजारमा यसपालिको सडक फुड फेष्टिवलकाे रुपमा गरिने जानकारी दिए ।

गत बर्ष साैराहामा आयोजना गरिएको १४ औं सौराहा फुड फेष्टिवलको आयव्याय सार्वजनिक गर्दै फेष्टिबलका संयोजक धुर्व गिरीले फेष्टिवलमा ८२ लाख ३० हजार आम्दानी भएको र ७८ लाख ६६ हजार खर्च कटाएर ६ लाख ९६ हजार रुपैया नाफा भएको जानकारी दिए ।संयोजक गिरीले फेष्टिवलमा भएको नाफा पर्यटन विकास र सामाजिक क्षेत्रमा खर्च गरिने जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सौराहामा हुने फेष्टिवललाई स्थानीय सरकारले सहकार्य गर्ने बताए । उनले कोरोनाका बीचमा सौराहाको पर्यटन प्रर्बद्धनको लागि घुमौ सौराहा अभियानलाई देशव्यापी बनाउनु पर्नेमा जोड पनि दिए ।
कार्यक्रममा सौराहाका व्यवसायी समेत रहेका वडा नं ७ का वडाध्यक्ष लालबहादुर भट्टले कार्यान्वयन गर्ने नसक्ने गरी छुट घोषणा गर्नु व्यवसायीको गल्ती भएको बताए । उनले दिन नसक्ने भए किन घोषणा गरेकाे भन्ने प्रश्न गर्दै यसले गर्दा झन नकरात्मक सन्देश गएको बताए ।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले सौराहाको पर्यटनलाई बचाइ राख्न छुट प्याकेज घोषणा गरिएको भन्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको बताए ।
रेवान साैराहाका महासचिव कृष्ण भट्टले प्रगति प्रतिवेदन प्रस्तुत गरेकाे साे कार्यक्रममा केन्द्रीय रेवानका कोषाध्यक्ष नरेशध्वज श्रेष्ठ, रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्ष पुरु खनाल, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, रेवान सौराहाका उपाध्यक्ष नरेश गिरी लगायतकाे उपस्थित रहेकाे थियो ।











