चितवन । चितवनमा एक महिलालाई भेट्न बाेलाएर राति एकान्तमा लगेर लुटपाट गरेकाे घटना सार्वजनिक भएकाे छ । प्रहरीका अनुसार ती ३९ वर्षीया महिलाकाे घर तनहु रहेकाे छ । गत माघ २४ गते राति ९ बजेको समयमा भ.म.न.पा. ०३ कमलनगर स्थित एकान्त स्थल (चउर)मा एक जना महिलालाई लुटपाट गरेको भन्ने सुचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेकाे थियाे । लुटपाटकाे घटना थाहा पाएपछि उक्त महिलालाई वडा प्रहरी कार्यालय नारायणगढकाे प्रहरी टोलीले उद्दार गरी उपचारको लागि अस्पताल पठाएकाे थियाे । हाल उनकाे अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
घटना यसरी सुरु हुन्छ ।
ती महिलाकाे एक जना बिशाल नाम बताउने एक युवा संग फाेन मार्फत चिनजान हुन्छ । उसले महिलालाई आफु मोटरपार्टस र वर्कसप सञ्चालक हुँ भनी फोन मार्फत चिनजान गरी बिभिन्न प्रलोभन देखाइ चितवन घुम्न आउनु भनि तनहुँबाट चितवन बोलाउछ । ती महिलापनि गत माघ २४ गते करिव ६ बजेको समयमा भरतपुर म.न.पा. ०१ पुल्चोक आइपुग्छिन । उनिहरुकाे त्यहीनै भेटहुन्छ । दुबैजनाकाे भेटपछि ती विशाल नाम बताउने युवाले बिभिन्न ठाउँमा घुमाई आफ्नो घर नजिकै जाउँ भनि अटो चढाई केहि समय अटोमा घुमाई अटोबाट झारी भ.म.न.पा. ०३ कमलनगर स्थित एकान्त स्थल (चउर)मा लगि ज्यान लिने धम्की दिइ चक्कु जस्तो धारिलो हतियार देखाई कुटपिट, लछार पछार गरी कान र हातमा समेत चोट पुर्याइ ती महिलाले लगाएको सुनको झुम्का, सिक्रि, ब्रासलेट, ०२ वटा औंठी, हातमा लगाएको घडी , ०२ वटा मोवाइल र नगद रु १७०००।– (सत्र हजार) गरी जम्मा रु ५,६३२५०।– (पाँच लाख त्रिसठ्ठी हजार दुइ सय पचास) रुपैया बराबरको धनमाल लुट्छन् । त्यसलगत्तै प्रहरीले आफ्नो अनुसन्धान सुरु गर्छ ।

प्रहरीका अनुसार माघ २७ गते भ.म.न.पा. ०३ बाह्रघरेमा लुकिछिपी बसेको अवस्थामा उक्त घटनामा संलग्न अभियुक्तलाई प्रहरीले फेला पारी नियन्त्रणमा लिइसकेकाे छ । ती पुरुष खासमा विशाल नभएर बर्ष ३३ का बिकल क्षेत्री रहेको र उनि हाल बाह्रघरेमा कोठामा बस्ने गरेको प्रहरीले जनाएको छ । उनकाे काेठाबाट निजले डाँका गरी लगेका सुनको सिक्री१ ,घडी १,मोबाइल २, फेला पारी वरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले बाँकी धनमालकाे बारेमा उनिसंग बुझ्दा निजले कानमा लगाउने झुम्का एक जोर र हातमा लगाउने ब्रासलेट भ.म.न.पा. ११ बस्ने बर्ष २९ को सन्तोष विश्वकर्मालाई बेचेको भनी खुलेकाे बताउदै सुन किन्ने सन्तोष विश्वकर्मालाई समेत तत्काल पक्राउ गरी माघ २७ गतेबाट लागु हुने गरि सम्मानित चितवन जिल्ला अदालतबाट हिरासतमा राखि अनुसन्धान गर्नको लागि ७ दिनकाे म्याद प्राप्त गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया