चितवन । पटक पटक चोरीको घटनामा पक्राउ परेकी एक महिलाले चोरी गर्नकै लागि चितवनमा एक बृद्धाको हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहिवार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार भरतपुर महानगर–९ की ७४ वर्षीया बाबाहजुर थापालाई गत असोज ७ गते हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिका–८ घर भएकी ३५ वर्षीया सविना सुनार भनिने शोभा विकलाई सार्वजनिक गरेसंगै सो कुरा खुलेको हो । प्रहरीले बिक पटक पटक चोरीको घटनामा संलग्न रहेको बताएको छ ।

चितवन प्रहरीले लामो समयपछिको अनुसन्धान पछि ७४ वर्षीया बाबाहजुर थापाको हत्यामा संलग्न बिकलाई पक्राउ गरि सार्वजनिक गर्न सफल भएका हो । पक्राउ परेकी सविना सुनार भनिने शोभा बिक रहेको प्रहरीको भनाइ छ । प्रहरीले लामो अनुसन्धानपछि गएको फागुन २ गते विकलाई पक्राउ गरेको थियो । बिकले आफुले चोरीका लागि थापाको हत्या गरेको स्वीकार गरेसगैँ पक्राउ गरि सार्वजनि गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । विकलाई विगतमा चोरीको आरोपमा जिल्लामा पटक पटक पक्राउ गर्दै छाडिएको प्रहरीले बताएको छ ।

एसपी अधिकारीले पक्राउ गरेकी बिकले वृद्धा घरमा एक्लै रहेको थाहापाएपछि मोबाइल र गरहरना लुटपाट गर्न थापाको हत्या गरेको स्वीकार गरेको बताए । हाल बिकलाई चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी मुलुकी अपराध संहिता–२०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।











