चितवन । तपाई कानुन मिच्नुहुन्छ र प्रहरीलाई प्रलोभनमा पारेर उम्कन खोज्नुहुन्छ भने होसियार रहनुहोला किनकी जिल्ला प्रहरी कार्यालय चितवनले प्रलोभनमा पारी घुस लिन वा दिन खोज्ने जो कोहीलाई पक्राउ गरि सार्वजनिक गर्ने भएको छ । रकम सानो होस या ठुलो जस्तो सुकै रकम तपाईले प्रलोभनमा पार्नुभयो भने जेलको चिसो सिढीमा बस्न बाध्य हुने स्थिती आउन सक्छ । यसको उदाहरण हो चितवन ट्राफिक प्रहरीले घुस दिन खोज्ने चालकहरुलाई धमाधम पक्राउ गर्नु । यसरि हेर्दा पछिल्लो एक हप्तामा मात्र प्रहरीले ४ जना चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै एक हप्तामा ४ जनालाई घुस दिन खोजेको आरोपमा पक्राउ गरेको जानकारी दिएको छ । आर्थिक लेनदेनमा शुन्य सहनशिलता अपनाएर घुस दिन खोज्ने वा दिने चालक तथा घुस लिने प्रहरी दुबैलाई कारबाही गर्ने गरिएकोे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।

उनले आफ्नो गल्ती छुपाउन वा गल्तीबाट छुटकरा पाइन्छ की भन्ने आशले चालकले ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न वा घुस दिन खोज्ने बताउदै ट्राफिक प्रहरीले आर्थिक प्रलोभन अस्वीकार गरी प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारवाही गर्ने अभियान नै चलाएर काम गरिरहेको बताए ।
पछिल्लो एक हप्तामा पक्राउ पर्ने चालकहरुमध्ये एक जना ट्रक चालकले कागजमा बेरेर एक हजार रुपैयाँ दिन खोजेका बताउदै एसपी अधिकारीले अर्का एक जना ट्रक चालकले सवारी चालक किताबभित्र एक हजार रुपैयाँ राखी प्रहरीलाई घुस दिन खोजेका बताए । उनले अरु दुई जनामा एउटा कार चालक र अर्का कारमा सवार रहेको बताएका छन् । नारायणगढबाट काठमाडौं जाँदै गरेका उनीहरुले यात्रुलाई चढाएर रकम असुल्न खोजेका थिए । एसपी अधिकारीले ति चालकले ट्राफिकलाई पनि घुस खुवाउनुपर्छ भन्दै रकम असुलेको पाइएको बताए । प्रहरीले ति चालकलाई र यात्रुलाई सोधपुछ गर्दा उल्टै प्रहरीसँग अभद्र व्यवहार देखाएको एसपी अधिकारीको भनाई छ । एसपी अधिकारीले हालका दिनमा आर्थिक लेनदेनमा शुन्य सहनशिलता अभियानलाई तिब्र पारिएको जानकारी पनि दिए ।

तपाईको प्रतिक्रिया