रासस
भरतपुर । चितवनको माडीस्थित अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधामको बारेमा चासो देखाउदै भगवान राम सोहि स्थानमा जन्मिएको बताएपछि माडी चर्चाको बिषय बनेको छ । प्रधानमन्त्री ओलीको चासो पछि चर्चामा रहेको माडीमा रहेको अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने विषयमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित, पुरातत्व विभाग र पर्यटन मन्त्रालयका उच्च अधिकारीको बीचमा सोमबार बृहत छलफल समेत भएको छ ।

बृहत रुपमा भएको सो छलफलका क्रममा राम मन्दिरको वास्तुकलाको बारेमा पनि प्रस्तुति भएको थियो । माडीको सो ठाउँमा प्रदेश सरकार र संघीय सरकारले संयुक्त रुपमा राममन्दिर निर्माण गर्ने र अन्य अध्ययन पनि सँगैसँगै अगाडि बढाउने तयारी गरेका छन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका स्वकीय सचिव अनुप पौडेलले जतिसक्दो चाँडो टेन्डर गरेर राम मन्दिर निर्माण गर्ने र सँगसँगै धाम बनाउने विषयमा आवश्यक अनुसन्धानलाई पनि अगाडि बढाउने निर्णय भएको जानकारी दिए । उनले राम मन्दिरसहित माडीलाई धार्मिक केन्द्र बनाउन मास्टर प्लानको बारेमा मन्त्रालयका अधिकारी र मुख्यमन्त्री सहितको टोली स्थलगत अध्ययनमा पनि जाने बताए । पौडेलले धार्मिक र आर्थिक विकास गरेर पर्यटकीय आकर्षण बढाउन वाल्मीकी आश्रमदेखि जनकपुरसम्म अध्ययन गर्नुपर्ने देखिएको बताउदै अयोध्याको अध्ययन र मन्दिर निर्माण सँगसँगै अगाडि बढाउने तयारी रहेको बताए ।

उता माडी नगरपालिकामा रहेको अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सहयोगमा भगवान् राम र सीताको मूर्ति तयार भइसकेको बताइएको छ । सो मूर्ति प्रधानमन्त्री ओलीको सचिवालय बालुवाटार परिसरमा राखिएको छ । प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार भएको र आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना बनाइएको स्रोतको भनाई छ ।

गत माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताएका थिए । प्रधानमन्त्री ओलीले चासो लिएपछि माडी नगरपालिकाले कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरिसकेको छ । गएको असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको दाबी गरेपछि चितवनको माडी नगरपालिकाको चर्चा चुलिएको छ ।

तपाईको प्रतिक्रिया