सुर्खेत । बलात्कारको झुठो आरोप लगाउने महिलालाई जिल्ला अदालत सुर्खेतले साढे तीन वर्षको कैद सजाय सुनाएको छ । सोमबार जिल्ला अदालत सुर्खेतका जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो ।

गएको असोज ५ गते वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफुलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ति महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । तर अदालतको सुनुवाइको क्रममा आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी ती महिलाले नै बयान फेरेको अदालत स्रोतको भनाई छ ।

अदालतले ति महिलाले झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि महिलालाई नै तीन वर्ष ६ महिनाको कैद सजाय तोकेको हो । अदालतका श्रेष्तेदार यामप्रसाद बास्कोटाले कैद सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया