चितवन । चितवनमा नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरि नक्कली नोट र नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । चितवनबाट पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा ८ निवासी २९ वर्षीय देवेन्द्र राई र सोही स्थानका १९ वर्षीय पवन राई रहेको प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । उनका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ बसपार्क क्षेत्रको पसलमा नक्कली नोट दिई समान खरिद गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

एसपी अधिकारीका अनुसार सुरुमा दुई जनालाई पक्राउ गरे पश्चात अनुसन्धान गर्दै जाने क्रममा नोट छाप्ने कार्यमा संलग्न थप दुई जनालाई काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट पक्राउ गरिएको बताए । पक्राउ परेका अरु दुई जनामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ बस्ने २८ वर्षीय विश्वराम राई र सोही स्थानका २४ वर्षीय राजाराम दनुवार रहेका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६ सिपाघाटमा रहेको विश्वराम राईको मोबाइल पसलबाट नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप २ थान, कार्डरिडर थान १, प्रिन्टर (फोटोकपी मेसिन) थान २, हार्डडिक्स थान १ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार राईलाई मोबाइल पसलबाटै पक्राउ गरिएको थियो । एसपी अधिकारीले मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा रहेको राजाराम दनुवारको मोबाइल पसलबाट प्रिन्टर १ थान, नक्कलीनोट छाप्नको लागि प्रयोग भएकोे फोटोकपी पेपर पाना २४ वटा, एउटा एफो पेपरमा नेपाली एक हजार दरको नोट अगाडिपछाडि छापिएको पेपर थान १ बरामद गरिएको जानकारी दिए । उनले दनुवारलाई मोबाइल पसलबाटै पक्राउ गरिएको बताए । एसपी अधिकारीले पक्राउ परेका व्यक्तिहरू उपर संगठित अपराध तथा निवारण ऐन–२०७० अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया