चितवन । राष्ट्रिय जनगणना कार्यालय रत्ननगरले मंगलबार रत्ननगरमा स्थानीयस्तरीय सचेतना गोष्ठी सम्पन्न गरेको छ ।

राष्ट्रिय जनगणना–२०७८ लाई मध्यनजर गरी वैशाख १ देखि रत्ननगर नगरपालिका भवनमा स्थानीय जनगणना कार्यालय स्थापना गरी मंगलबार सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा स्थानीय जनगणना कार्यालय प्रमुख नारायणप्रसाद रिजालले स्थानीय सरोकारवालालाई जनगणनासम्बन्धी सञ्चालन, व्यवस्थापन, प्रचारप्रसार र पैरवी गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको जानकारी दिए ।

प्रमुख रिजालका अनुसार रत्ननगर नगरपालिकामा ३० जना सुपरीवेक्षक र १२२ जना गणकहरु खटिनेछन् । कम्तीमा चार वा पाँच जना गणकका लागि एक जना सुपरीवेक्षक रहनेछन् ।

यस्तै, स्थानीयस्तरमा स्थानीय जनगणना समन्वय समिति र प्रत्येक वडामा वडास्तरीय जनगणना सहजीकरण समिति रहने व्यवस्था रहेको छ ।

गोष्ठीमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, वडाध्यक्ष, प्रधानाध्यापक एवं स्थानीय सरोकारवालाले सबैको सहभागितामा राष्ट्रिय जनगणना सफल पार्नुपर्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला जनगणना कार्यालय चितवनका जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले जनगणनाको औचित्यमाथि प्रकाश पारेका थिए भने सहायक अधिकारी रेणुकुमारी घिमिरेले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

जनगणना अधिकारी भण्डारीका अनुसार जनगणनाको सूचीकरण कार्य यही वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म र दोस्रो चरणमा मुख्य प्रश्नावलीसहित विस्तृत विवरण संकलन जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ ।

.

तपाईको प्रतिक्रिया