काठमाडौं । १५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निजी अस्पताललाई सरकारले निर्देशन दिएको छ । यस्तो निर्देशन सरकारले कम्तीमा १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पतालहरुलाई दिएको हो ।
कोरोना संक्रमण बढेसँगै अस्पतालमा अक्सिजन अभाव देखिएको र थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरे लगत्तै सरकारले यस्तो निर्देशन दिएको हो । हाल धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन र सरकारले अक्सिजन सप्लाईमा अस्पतालहरुको कोटा तोकेपछि कोटा अनुसारको अक्सिजनले नपुग्ने भन्दै अस्पतालहरुले नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा १०० बेड भएका निजी तथा सामुदायिक अस्पतालहरुले १५ भित्र अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने बुधबार निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।











