पर्वत । बिहेको भोज गर्दै हुनुहुन्छ होसियार हुनुहोला । किनकी यो कोरोना महामारीको बेला सरकारले गरेको निषेधाज्ञा अटेर गरि बिहे भोज गर्नु भयो भने तपाई पनि प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ । हो यस्तै भएको छ पर्वतमा पनि ।

पर्वतको जलजला गाउँपालिका—२ मा निषेधाज्ञाका समयमा बिहे भोज गरेको आरोपमा दुईजना बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला—२ माझफाँटमा बिहेको भोजको आयोजना गरेको आरोपमा ति दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही गाउँपालिकाका २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियार रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहे गरेका उनीहरुले बुधबार एकै ठाउँमा भीड जम्मा गरेर भोज भतेरको आयोजना गरेको सूचना पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए । उनका अनुसार उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०÷४० गाउँले भेला भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि भोजमा सहभागीको भागाभाग भएको थिए । भोजमा सरिक भएका सबै भागेपछि दुईजना बेहुलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको हो ।

तपाईको प्रतिक्रिया