चितवन । माडीको एकमात्र अस्पताल बघौंडा अस्पताललाई आज अक्सिजनसहित स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । सो सहयोग हस्तान्तरण कार्यक्रममा नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम चितवन जिल्ला इञ्चार्ज सन्देश पौडेल, सामाजिक अभियान्ताद्वय तारा पौडेल र एन्ड्र पौडेलको संयुक्त टिमको तर्फबाट बघौंडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

आज उपलब्ध गराइएका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर २ थान, अक्सिजन सिलिन्डर ५ थान, पीपीइ ५० थान, गम बुट २५ जोर,अक्सिमिटर २ थान,मेडिकल गलक्स २०० जोर, थर्मामिटर गन २ थान, एन ९५ मास्क ५० थान, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् । सामाग्री ग्रहण गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा. रन्जु सिंहले उपलब्ध सामग्रीहरुले कोभिडको रोकथाम तथा नियन्त्रणमा थप टेवा पुग्ने जनाउँदै सहयोगी मनहरुमा धन्यवाद दिए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम चितवन जिल्ला इञ्चार्ज सन्देश पौडेलले कोभिड बिरुद्धको लडाई साझा बिषय भएको भन्दै यसको नियन्त्रण र रोकथाममा सबैको सहयोग र सहकार्य हुनु नै आजको अपरिहार्य आबश्यकता रहेको प्रतिक्रिया दिए ।











