महेश पाण्डे
चितवन । नेपाल सरकारले गत जेठ २५, २६ र २७ गते देशैभरका ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकसँगै छुटेका स्वास्थ्यकर्मी, शुरक्षाकर्मी र पत्रकारलाई पनि कोरोना भाइरस बिरुद्धको भेरोसिल नामक खोप लगाउने निर्णय गर्‍यो । सो निर्णयसँगै रत्ननगर नगरपालिकाले पनि आफ्नो खोप अभियान चलाएको थियो । तर यस अभियानमा तोकिएको लक्षित समूहभन्दा बाहिरकानै बढि परे जसको कारण थियो पहुँचवाला र सोर्सफोर्स ।

रत्ननगर नगरपालिकामा रहेको खोप लगाउने १४०५ जनाको रेकर्ड पुस्तिका हेर्दा सरकारले तोकेका लक्षित समूह र उमेर समूह अर्थात ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका भन्दा कम उमेर समूहका ब्यक्तिहरुले सो खोप लागाएको प्रष्ट देख्न सकिन्छ । यति सम्मकी सो खोप लगाउनेमा रत्ननगर नगरपालिकाका मेयर नारायण वनकी श्रीमती ज्वाला पुरी वन, छोरा सफल बन पनि रहेका छन् । उनिहरुले सो खोप नगरपालिकाको कर्मचारी बनेर लगाएका छन् ।

त्यस्तै खोप लगाउनेमा नेपाली कांग्रेसकी जिल्ला प्रवक्ता निता ढकाल, नेपाली कांग्रेसका जिल्ला सदस्य दिवाकर अर्याल, उद्योग वाणीज्य संघ रत्ननगरका अध्यक्ष अनिल कृष्ण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शंकर गिरी र उनकै परवारबाट २१ वर्षका सफल गिरी र सगुन गिरी, उद्योग वाणीज्य संघ रत्ननगरका पूर्व अध्यक्ष राजाराम रेग्मी लगाएतका रहेका छन् ।

त्यसो त जेठ २५ र २६ गते नगरभित्र रहेका स्वास्थ्य केन्द्रमा रहेका वडा अनुसार र जेठ २५, २६ र २७ गते नगरकै सबैभन्दा ठूलो अस्पताल बकुलहर रत्ननगर अस्पतालमा खोप लगाउने तालिका बनाइएको थियो । सो तालिका अनुसार खोप लगाउने कार्य सुरु पनि भयो तर भइदियो के भने जुन जुन स्वास्थ्य केन्द्रमा नागरिता हेर्ने जिम्मा पाएका जन प्रतिनिधीलेनै आफ्ना चिनेजानेकालाई पहिलो प्राथमिकतामा राखे ।

जसको नेतृत्व गरे सो वडाका वडा अध्यक्षहरुले । कति स्वास्थ्य केन्द्रमा वडा अध्यक्ष र वडा सदस्यको दवाव, कतिमा मेयरको दवाव, कतिमा स्वास्थ्यकर्मीको दवाव र नगरपालिकाकै कर्मचारी सम्मको दवावमा सो खोप लक्षित समूहभन्दा बाहिर गएको देखिएको छ । अझ बिषेशगरी जेठ २७ गते बकुलहर रत्ननगर अस्पतालमा खोप लगाएका २०२ जना मध्ये अभिकांश पहुचवालाहरु रहेको हामीलाई उपलब्ध रहेको आकंडाबाट प्रष्ट हुन्छ ।

हुन त रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले खोपको दुरुपयोग भएको कुरा मिडिया सम्म पुगेको थाहा पाए पछि त्यसको केहिदिनमानै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेललाई त्यस बिषयमा स्पष्टिकरण पनि सोधेका थिए । तर सो स्पष्टिकरण अहिले प्रशासनको कोठामानै अड्कीएको छ । त्यसो त उनले सो स्पष्टिकरण दुरुपयोग किन भयो भन्ने बिषयमा सोधिएको भएपनि उनकै परिवारबाट पनि नगरपालिकाको कर्मचारी बनेर खोप लगाएको पाइएपछि अरुले भने यसलाई खोप दुरुपयोगलाई ओझेलमा पार्न मेयर वनको रणनिति भनेर जिकिर गरेका छन् ।

समग्रमा भन्दा रत्ननगरको खोप दुरुपयोग प्रकरणमा नगरका प्रमुखदेखि वडा अध्यक्ष र वडासदस्यसम्म, उद्योग वाणिज्यसंघका पदाधिकारी, नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा खोप लगाउन बसेका स्वास्थ्यकर्मी सम्मको लापरभाहीबाट भएको देखिएको छ ।

तपाईको प्रतिक्रिया