महेश पाण्डे
चितवन । चितवनको कुमरोजमा बाघले खाएको अवस्थामा महत्तोको अवशेष फेला परेको छ । कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका वडा नं. १३ हर्नरी निवासी अन्दाजी ६५ बर्षका भदै महत्तोको बाघले खाएको अवस्थामा अवशेष फेला परेको खैरहनी १३ का वडा सदस्य जिवन कार्कीले जानकारी दिए । कुमरोज मध्यवर्ती सामुदायिक वनको इचर्नी पोस्ट नजिकै रहेको कंक्रिट टावर नजिकै महत्तोको अवशेष भेटिएको कार्कीले बताए ।

मृतक महत्तो गत श्रावण २५ गते नजिकै रहेको कुमरोज सामुदायीक वनमा घाँस काट्न भनि घरबाट निस्किएका थिए । सामुदायीक वनमा घाँस काट्न गएका महत्तो बेलुकासम्म घर नफर्के पछि परिवारले नजिकै रहेको कुमरोज सामुदायीक वनमा खबर गरेको कार्कीले बताए ।

महत्तो हराएको खबर पाए लगत्तै युनाईटन हात्ती सञ्चालन सहकारी संस्था लि सौराहाको हात्ती र चितवन राष्ट्रिय निकुञ्जको करिब ३० वटा हात्तीले केहि दिन देखि उनको खोजि गरेको थियो ।

खोजि गर्ने क्रममा शुक्रबार महत्तोले लगाएको चप्पल र टोपी भेटिएको थियो भने आज (शनिवार) उनले लगाएको कट्टु च्यातिएको अवस्थामा फेला परेको कार्कीले जानकारी दिए ।

कार्कीले कपडाको साथमा मानव शरिरका हाडका टुक्रा पनि फेला परेको बताए । उनले कपडाको आधारमा परिवारको सदस्यद्वारा पहिचान भएको र भेटिएको हाडखोर महत्तोकोनै भएको जानकारी दिए ।

त्यस्तै गत असार ७ गते पनि सो वनबाट करिब ८ किलोमिटर टाँढा उत्तर पश्चिममा रहेको जनकौली सामुदायीक वनमा रत्ननगर नगरपालिका वडा नं. ५ बस्ने ३५ वर्षिय गिता अधिकारीको बाघले खाएकै अवस्थामा सव फेला परेको थियो । जुन संगै सिमाना जोडिएका सामुदायीक वन रहेका छन् । संघै यसरी हेर्दा चितवनमा बाघको आक्रमण बाट मृत्यु हुनेको संख्या बढ्दै गएको देखिएको छ ।

तपाईको प्रतिक्रिया