ध्रुवराज लामिछाने
रत्ननगर । रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको मोहना माविको कक्षा ११ र १२ खारेज गर्ने निर्णय सच्याउन रत्ननगर नगरपालिकासँग स्थानिय पाँच राजनैतिक दलले माग गरेका छन् ।
यसअघि रत्ननगर नगरपालिकाले २०७७ चैत ९ गते मोहना माविमा शैक्षिक सत्र २०७८÷२०७९को लागि कक्षा ११ विधार्थी भर्ना नगर्नु भनि विधालयलाई पत्र पठाएको थियो ।
उता स्थानिय स्तरमा विधालय संग कुनै परामर्श नगरी नगरपालिकाले एकलौटी ढंगले निर्णय गरेकाले स्थानिय विपन्न, जनजाति, आदीवासी, सुकुम्बासी, दलित, गरिव एवं उत्पीडीत वर्ग शिक्षाको ज्योतिबाट बञ्चित हुने भन्दै नगरपालिकाले उक्त निर्णय तुरुन्त खारेज गरी नयाँ भर्नाको अनुमति प्रदान गर्न राजनैतिक दलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानिय अभिभावक तथा विद्यालयको तर्फबाट २०७७ चैत्र १८ गते रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत शिशिर पौडेल समक्ष निर्णय सच्याई भर्ना गर्न पाउँ भनि दिइएको ध्यानकर्षण पत्रको वेवास्ता गरीएको राजनैतिक दलले वताएका छन् ।
मोहना माविबाट एसइइ पास भएका विधार्थीहरु अन्योलमा रहेकाले यस अघिको निर्णय खारेज गरि कक्षा ११ मा भर्ना गर्ने वातावरण सृजना गर्न नगरपालिका संग बिज्ञप्ति मार्फत माग गरिएको छ ।
स्थानियको माग तत्काल संवोधन गर्न स्थानिय पाँच राजनैतिक दलका तर्फवाट नेपाली काँग्रेसका भुपेन्द्र प्रसाद अधिकारी, ने.क.पा. एमालेका विष्णुहरि देवकोटा, ने.क.पा. माओवादी केन्द्रका मेघनाथ पौडेल, राष्ट्रिय जनमोर्चाका मेघराज ढकाल र ने.क.पा मालेका तोयाराज थपलियाद्धारा जारी गरीएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।












