अजित अधिकारी
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर कमिटीले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी कार्यालय उद्घाटन गर्दै राप्रपाका केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डेले माडीमा मालपोत, नापी र ईलाका प्रशासन कार्यालय आँफुले ल्याएको बताएका छन् ।
कार्यकर्ता भेटघाट तथा पार्टी कार्यालय उद्घाटनका लागि माडी आएका पाण्डेले माडी नगरपालिका ६ स्थित बादरमुढे नजिकै रहेको होटल फुड ल्याण्डमा भएको कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
नेता पाण्डेले आँफु सांसद र भूमिसुधार तथा बनमन्त्री हुँदा आँफुले सुरु गरेको काम अझै अधुरो रहेको बताए । उनले काम गर्छु भन्नेहरु काम नगरी ठुलठुला सपना जनतालाई देखाएर बिकासको योजना नगरी बिना योजना बोल्दै हिडेको आरोप लगाए ।
अघिल्लो चुनावमा माडीलाई मणि बनाउने प्रचण्डको नाराप्रती कटाक्ष गर्दै, पाण्डेले निकुञ्जमा आकाशेपुल र सुरुङ्ग मार्ग खोइ ? कता हरायो भन्दै प्रश्न गरेका थिए ।
भूमिहिन सुकुम्बासी जनताहरुका लागि आँफुले राम्रो ब्यबस्थापन र उनीहरूलाई स्थान्तरण गरी रोजगारीको अवसर सिर्जना गर्ने प्रबन्ध मिलाउन लागेका बेला काम गर्न दिएनन् भन्ने उनको भनाइ थियो ।
बिदेशीको इशारामा चल्ने गरेका नेताहरुले जनताका समस्या नबुझी जबर्जस्ती आफ्नै पारामा एमसीसी पास गरेको आरोप लगाए । पाँच दलको नाम मात्र र उदेश्य फरक भन्दै नेता पाण्डेले नेपाली जनतालाई गरिब र अफगानिस्तान र युक्रेनको जस्तै हालत बनाउन नेताहरु लागेको बताए ।
उनले, बिगतदेखि आजसम्म माडीको बिकासको लागि बि.स. २०५६ सालदेखि चुनाव हार्दा होस् या जित्दा आँफु सधैं जनताको बिकास निर्माणमा नै लागिरहेको हुँदा, माडीलाई चक्रपथको योजना सुरु गरेको र गोबिन्दबस्तीबाट खरकट्टासम्मको रिउ करिडोर निर्माण र मानव र बन्यजन्तुबिचको द्वोन्द ब्यबस्थापनका लागि छुट्टै योजना बनाएको थिए । तर मेरो योजना अझै अधुरै रहेको हुँदा आफ्ना योजना पूरा गरेरै छाड्ने उनको भनाइ थियो ।
अहिले बिकासका नाममा आधा बजेट खोल्तीमा र आधा बजेटले काम गर्ने नक्कली बिकासबादी सोच भएकाहरुले आगामी चुनावी नारा बनाउन लागेको बताए ।
यसैगरी उनले, नेकपा एमालेका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिका बारेमा उदघोष गरेपछि माडीको चर्चा परिचर्चा बिश्वमा नै भएको र राम जन्मभूमि माडीमा भएको शास्त्रीय प्रमाण तथा खोज तथ्य प्राप्त भएकोमा आँफु खुशी भएको बताए ।
यसले गर्दा माडीको आर्थिक तथा धार्मिक बिकास र बिश्वका हिन्दुहरुलाई एकत्रित गर्न महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा यसको प्रचारप्रसार र संरक्षण बिकासमा लाग्नुपर्ने उनको भनाइ थियो ।
तर नेता पाण्डेले सम्बोधनका क्रममा आफ्नो पार्टी आगामी चुनावमा गठबन्धन गर्ने या नगर्ने बारेमा केही कुरा बताएनन् ।
राप्रपा माडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी कार्यालय उद्घाटनमा झन्डै ६० जना युवाहरूले अन्य पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेका थिए ।











