अजित अधिकारी
चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर परुई खोला किनारमा बसोबास गर्दै आएका चेपाङ्गहरुले आँफुहरुलाई माडी नगरपालिकाले घर न घाटको बनाइदिएको बताएका छन् ।
कुसुम खोलाबाट बसाइँसराइ गरि परुई खोला किनारमा अस्थायी घर टहरा बनाइ बसोबास गर्दै आएका झन्डै ६८ घरधुरी चेपाङ्ग परिवारलाई नगरपालिकाले तीन कोठे घर र एक ओटा चर्पी बनाइदिने सपना देखाएर आँफुहरुलाई अलपत्र पारिदिएको बताए ।
उनीहरु भन्छन् हामीलाई सुरुमा नगरपालिकाले कुसुम खोलाबाट ल्याएर यहाँ परुईको किनारमा राख्यो । पटकपटक पूर्व नगर प्रमुख ठाकुर प्रसाद ढकाल हामीलाई आश्वासन दिन भनेर आइपुग्थे । अनि भन्थे, ´पख्नुस् है तपाईंहरुका लागि मैले नयाँ अबधारणा ल्याएको छु । हामीले तपाईंहरुलाई तीन कोठे घर र एकओटा चर्पी निर्माण गरिदिन्छौं । अनि यहाँ तपाईंहरुलाई खानेपानी, बाटो, र बिजुलीको समस्या भएको हुँदा हामी यो पूर्वाधारहरुको छिट्टै निर्माण गर्छौं ।` भन्दै जाने गरेको स्थानीय कमल चेपाङ्गले बताए ।
कमल भन्छन् ´उनी त गफ गर्न माहिर नै रहिछन् नि, एक सातामा तपाईंहरुका घर बन्छ भन्दाभन्दै महिनौं दिन हुँदाहुँदै बर्ष दिन अझ हुँदाहुँदै पाँच बर्षे कार्यकाल नै बिताए ।`
यसैगरी अर्का स्थानीय छबिलाल चेपाङ्ग भन्छन् ´हामी घरका लागि मात्र कति पटक नगरपालिका धाउने । जति धायपनि बीसको उन्नाइस हुने होइन क्यारे भन्दै आक्रोश पोखे ।` यसैगरी उनले फेरि भने ´बर्षातको समय आउन लाग्यो अहिलेसम्म ब्यबस्थित ड्याम नगरपालिकाले परुई किनारमा लगाउन सकेको छैन । गतबर्ष बर्षात हुने बित्तिकै कता घरसंगै बाढीले बढार्ने हो कि भन्ने चिन्ताले दिनरात ढुक्कसँग बस्न पाइएन । अहिले पनि फेरि बर्षा सुरु हुन लाग्यो अझै ड्याम लगाउने कामको अत्तोपत्तो छैन ।`
बिहान खाए, बेलुका के खाउँ भन्ने चिन्तामा रहेका उनीहरु बर्षातको समयमा मेलापात जानुपर्ने हुँदा सुरक्षित ड्याम निर्माण नहुँदा बालबच्चाहरु घरमा एक्लै छाडेर जान पनि डर लाग्ने गरेको एक स्थानीय महिलाले बताइन् ।
यसैगरी अहिले नयाँ स्थानीय सरकार निर्माण भएपछि यसबारेमा के कुरा भइरहेको छ त ? तपाईंहरुको भन्ने प्रश्नमा फेरि स्थानीय कमल चेपाङ्ग भन्छन् ´पहिले जसरी घर बनाउने आश्वासन पाइएको थियो । अहिले पनि त्यसरी नै आश्वासन मात्र पाइएको छ । हामी गर्दैनौं कसैले भन्दैनन् । सबैले नआत्तिनुस् हामी गर्छौं नै भन्छन् ।` उता, बिहान बेलुकाको छाक टार्नै समस्या भएपछि पुनः बाली लगाउन कुसुमखोला झरेका छन् । नगरपालिकाले पक्की घरमा बासको ब्यबस्था गरिदिने आश्वासन दिएपछि कुसुमखोलाका चेपाङ्ग माडीकै कृष्णनगर, परुई खोला किनार, खरकट्टा प्याउली लगाएतका ठाउँमा बसाइँसराइ गरेका थिए । तर, पेट भर्ने माध्यम नभेटेपछि बाली लगाउन पुनः कुसुमखोलाकै जमिनमा पुगेका हुन् । अहिलेपनि चेपाङ्ग समुदायका लागि परुई किनारमा घर बनाउन नगरपालिकाद्वारा गाडिएका पिलर जिर्ण र अलपत्र अबस्थामा छन् ।
तर उता, अहिले हालै भएको स्थानीय तह निर्बाचनमा नगर प्रमुख पदमा बिजयी भएकी नगर प्रमुख ताराकुमारी काजी महतोले घरको विषयमा भन्दापनि अहिलेको अपरिहार्य आबश्यकताको रूपमा रहेको परुई किनारको तटबन्धन बाँध लगाउने विषयमा आँफु सकारात्मक रहेको बताइन् । स्थानीय कमल चेपाङ्गका अनुसार आँफुहरु नयाँ स्थानीय सरकार बनेपछि बारम्बार नगरपालिका गएको र घर र ड्यामको विषयमा कुरा गर्दा अहिले तत्काल घर भन्दापनि ड्याम लगाउनुपर्ने मेयर महतोको भनाई रहेको र काम छिटै थालनी गर्न लागिएको र यो बारेमा मेयर महतो आँफु कसरा जाने र वार्डेनसंग छलफल गरेर काम अगाडि बढाउने निर्णय भएको स्थानीय कमल चेपाङ्गको भनाइ छ ।
कुसुम खोलाबाट बसाइँसराइ गरी परुई खोला किनारमा अस्थायी घर टहरा बनाइ बसोबास गर्दै आएका झन्डै ६८ घरधुरी चेपाङ्ग परिवारलाई नगरपालिकाले तीन कोठे घर र एकओटा चर्पी बनाइदिने सपना देखाएको थियो ।
सोझासाझा जनतालाई झुक्याएर स्थानीय निकायले घर बनाउने सपना देखाएर आजसम्म घर निर्माण नगर्नु नगरपालिकाको गैरजिम्मेवारी कदम देखिन्छ ।
काम नगर्ने कुराले मात्र आकाशका तारा झार्न खोज्ने स्थानीय निकायको परिबृती हाबी हुँदै जाँदा कयौं बिकास निर्माणका कार्यहरु ओझेलमा पर्ने गरेका छन् ।
छेपारे परिबृती र भोलिबादले समाज छपक्कै ढाकिएका बेला बिगतमा भोटका लागि बनाइने नारा दिगो नभई क्षणिक समयका लागि मात्र हुँदा जनताको ढाड सिमाभन्दा बढी नै सेकिएको छ ।
भनिन्छ, नेपालीमा एउटा उखान छ नि, अति गर्दा, खती हुन्छ । भनेझैं आगामी चुनावमा आँफुहरुलाई बिगतमा नेताहरुले दिएको आश्वासनको पैचौ फिर्ता गर्ने स्थानीयहरुको भनाइ छ ।
अहिले त्यहाँ आवास, खानेपानी, बाटो र बिधुतको समस्या छ । यसतर्फ स्थानीय निकायले तत्काल पहल गर्नुपर्ने देखिन्छ । यसैगरी बिगतमा चेपाङ्गहरुलाई स्थानीय निकायद्वारा दिइएका आश्वासनहरु पूरा गर्नुपर्दछ ।
घर बनाउनका लागि गाडिएका पिलर जिर्ण र अलपत्र अबस्थामा रहँदा बिगतमा दिइएका आश्वासनका कामहरु एक रती पनि नहुनु भनेको सिधै जनतालाई अन्याय गर्नु हो ।











