रत्ननगर । रत्ननगर वडा नं २ टाँडी स्थित ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा यही भदौं ६ गते बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । सेवा केन्द्रले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी र उद्देश्यको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र टाँडीकी प्रमुख शर्मिला आचार्यले सेवा केन्द्र टाँडीमा मात्र ५०० युनिट रगत संकलन गर्ने गरी तयारी गरिएको बताए ।
कार्यक्रममा सहभागी भएर रक्तदान गर्न आह्वान गर्दै उनले रक्तदान जीवनदान भएको बताइन् । रगत दिएर मरिदैन उनले भनिन् तर विरामीले रगत पाएन भने उसको ज्यान जान सक्छ, यो मानवीय कार्यमा सबै सहभागी बनौं । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका विभिन्न युनिटमा भदौं ६ देखि ९ गते सम्म अभियानका रुपमा सञ्चालन हुने रक्तदान कार्यक्रम चार दिनमा एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य रहेको छ ।
दादी प्रकासमणिजीको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिबसको अबसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको केन्द्रकी प्रमुख आचार्यले बताइन् । रक्तदान शरीरको योगदान मात्र होइन् उनले भनिन् आत्माको साधन पनि हो । समाजसेवा प्रभादका राष्ट्रिय संयोजक अर्जुन श्रेष्ठले विश्व एकता र भातृत्वका लागि ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले राष्ट्रिय अभियानका रुपमा बृहद् रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै पवित्र कार्यमा सहभागी हुन सबैलाई आग्रह गरे ।














