रत्ननगर । भरतपुर वडा नं ७ कृष्णपुर खेलमैदानमा माघ १९ गतेबाट सातौं चितवन भेट्रान कप २०८२ फुटवल प्रतियोगिता हुने भएको छ । कृष्णपुर भेट्रान फुटबल क्लवको आयोजनामा स्वः दिलीप राण स्मृति सातौं अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुन लागेको हो ।

आयोजकले मंगलबार खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । स्थानीय स्तरमा फुटबल खेलको विकास गर्ने र उमेर पुगेका पूर्व खेलाडीहरुलाई जमघट गराई युवावर्गमा फुटबल प्रति सकरात्मक उत्प्रेरणा जगाउने उद्देश्यले प्रतियोतिता आयोजना गरिएको क्लवका अध्यक्ष धर्मेन्द्रराज शाहीले बताए ।

१६ वटा टिमले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिताको विजेता टिमलाई १ लाख ५० हजार नगर पुरस्कार, उपविजेता टिमलाई ७५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक भरतबहादुर सुवेदीले जानकारी दिए । प्रतियोगिता अन्तर्गत प्रत्येक दिन उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई म्यान अफ दी म्याच घोषणा गरी नजही २ हजार रुपैया पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । म्यानअफ दी टुर्नामेन्टलाई १० हजार, बेष्ट गोलकिपरलाई ५ हजार, बेष्ट फर्वाडलाई ५ हजार, बेष्ट डिफेन्सलाई ५ हजार, बेष्ट मिडफिल्डरलाई ५ हजार, हाइयर स्कोरलाई ५ हजार र बेष्ट कोच ५ हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा भारतको कलकत्ता भेट्रान सहित एनआरटी एफ सी भेट्रान, हेटौडा भेट्रान क्लव, एवीसी भेट्रान क्लव हेटौडा, फ्रिडम फाइटर काठमाडौं, कुपण्डोल भेट्रान ललीतपुर, सिमरा भेट्रान क्लव, चाबेल भेट्रान क्लवले प्रतिस्पर्धा गर्ने आयोजक क्लवका सचिव राजनदिल गुरुङले जानकारी दिए । त्यसैगरी नमोबुद्ध युवा क्लव भेट्रान बुटबल, चितवन भेट्रान फुटबल क्लव (रातो), चितवन भेट्रान फुटबल क्लव (निलो), नागास्वती भेट्रान हेटौडा, बगरभाई खलक भेट्रान पोखरा, कैलाली भेट्रान, झापा भेट्रान र विरगञ्ज सिटीले प्रतिस्पर्धा गर्ने सचिव गुरुङले जानकारी दिए । पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की र पूर्व फिफा रेफ्री वीरेन्द्र पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया