काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।आइसिसीको पूर्ण सदस्य राष्ट्र न्युजिल्यान्ड यु–१९ विश्वकपमा उपविजेता भइसकेको टोली हो। न्युजिल्यान्ड १९९८ को विश्वकप फाइनलमा इङ्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो। अनुभवी न्युजिल्यान्डविरुद्ध जित पाउन नेपाली टोलीलाई त्यति सहज छैन। तर, युवा टोली सकारात्मक नतिजा निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताउँछन् कप्तान राजु रिजाल।सन् २००६ मा श्रीलंका सम्पन्न विश्वकप नेपालका लागि सम्झनयोग्य संस्करण हो। जहाँ नेपालले प्लेट च्याम्पियनसिप जित्दा न्युजिल्यान्डलाई नै १ विकेटले हराएको थियो।नेपालले सातौं संस्करणका रूपमा यु–१९ विश्वकप खेल्दैछ। हरेक दुई वर्षमा हुने प्रतियोगिता नेपालले सन् २००० देखि खेल्न थालेको हो। तर, २०१० र २०१४ को संस्करणमा भने नेपाल छनोट हुन सकेन।गत अक्टोबरमा मलेसियामा यु–१९ विश्वकप छनोटको उपाधि जित्दै नेपाली युवा टोलीपुनः विश्वकपमा पुनरागमन गरेको हो। छनोट प्रतियोगिता जित्दाका १२ खेलाडी अहिले टोलीमा छ।पछिल्लो समय नेपाली क्रिकेटमा आशालाग्दा खेलाडीमा देखिएका छन् कप्तान रिजाल। टोलीमा पुराना खेलाडी हुनु कप्तान राजुका लागि फाइदाजनक हुनसक्छ। त्यसले टोलीको समन्वयमा धेरै सहयोग गर्ने उनको विश्वास छ। उनीभन्छन्, ‘टोलीमा छनोट खेलाडी पुराना साथीहरू छन्। छनोटमाभन्दा अहिले प्रतिस्पर्धा धेरै फरक छ। यद्यपि हाम्रो लक्ष्य राम्रो नतिजा निकाल्ने हो।’यु–१९ विश्वकप पहिलोपल्ट सन् २००० मा खेल्दा नेपाल आठौं स्थानमा रहँदै फर्किएको थियो। त्यसयता नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै उपलब्धि हासिल गरिसकेको छ।यस प्रतियोगितामा नेपालकोपहिलो लक्ष्य तीनपटक यु–१९ विश्वकप उपाधि जितिसकेको भारतसम्मिलित समूहबाट दोस्रो चरण पुग्ने हुनेछ। समूह ‘डी’ नेपालले आयरल्यान्डसँग पनि खेल्नेछ। कप्तान राजु भन्छन्, ‘हाम्रो लक्ष्य दोस्रो चरण पुग्ने हो। त्यसपछि हाम्रो कम्तीमा एउटा टेस्ट राष्ट्रलाई हराउने लक्ष्य छ। क्रिकेटमा जे पनि हुनसक्छ। हामी त्यस्तो नतिजा निकाल्ने कोसिस गर्छौं।’प्रतियोगिताका लागि नेपालले भारतमा अन्तिम तयारी गरेको थियो। कीर्तिपुरमा सुपर लिग गरेर छानेका खेलाडीले भारतको नयाँ दिल्ली र हिमान्चल प्रदेशमा विशेष प्रशिक्षण गरेका थिए। भारत भ्रमणमा नेपालले अफगानिस्तानसँग अभ्यास खेल खेलेको थियो। तर, दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो।प्रशिक्षक जगत टमाटा विश्वकपमा आफ्नो क्षमताअनुसार खेल्नेनेपालको मुख्य लक्ष्य भएको बताउँछन्। उनले भनेका छन्, ‘हाम्रो पहिलो लक्ष्य विश्वका लागि छनोट हुने थियो। अहिले हामी उच्च स्तरको प्रतियोगिता खेलिरहेका छौं। हामी मैदानमा आफ्नो क्षमताअनुसार खेल्ने लक्ष्यमाहुन्छौं।’विश्वकप सुरु हुनुअघि ढाकामा भएका दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो। नेपालले पाकिस्तानलाई १ सय १० र श्रीलंकालाई ६५ रनले नतिजा सुम्पेको थियो।प्रतियोगिताअघिको हारले कमजोरी सुधार्न सहयोग गर्ने बताउँछन् प्रशिक्षक टमाटा। उनले भने,’तयारी राम्रो भएको छ। अभ्यास खेलमा हाम्रा बलरले राम्रो गरे। त्यसबाट हामी खुसी छौं। ब्याटिङमा केही समस्या देखियो। सुरुआती ब्याट्सम्यानले आत्मविश्वाससाथ खेल्न सकेका छैनन्। त्यो अनुभवले हो। विस्तारै उनीहरूले राम्रो गर्ने विश्वास छ।’युएईमा २०१४ को यु–१९ विश्वकप खेल्दा न्युजिल्यान्ड १०औं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको थियो। तर, यसपल्ट राम्रो प्रदर्शन गर्नेमा न्युजिल्यान्डका कप्तान जोस फिनिइ आत्मविश्वासी देखिन्छन्। प्रतियोगिताका लागि न्युजिल्यान्डले अस्टे्रलिया र पाकिस्तानसँग त्रिकोणात्मक खेल खेलेको थियो। त्यसमा न्युजिल्यान्डले दुई खेल जितेको थियो। कप्तान जोसले भने, ‘दुबईको अनुभवले प्रतियोगितामा राम्रो गर्न सहयोग गर्नेछ। हामी साँच्चिकै प्रतिभाशाली खेलाडी भएको समूहमा खेल्न गइरहेका छौं। त्यसमा केही जोडी खेलाडीले उच्च स्तरको क्रिकेट खेलिसकेका छन्।’विश्वमै न्युजिल्यान्ड क्रिकेट ‘ब्ल्याक क्याप’ ब्रान्डले परिचित छ। क्रिकेटमा ब्ल्याक क्यापको उदाहरण नै न्युजिल्यान्डका लागि सकारात्मक कुरा भएको कप्तान जोस बताउँछन्। उनले भने, ‘मलाई लाग्छ, न्युजिल्यान्डमा सबै क्रिकेटरले विकास गरिरहेका छन्। यो हाम्रा लागि महत्वपूर्ण कुरा हो र प्रतियोगितामा त्यसले ठूलो महत्व राख्छ।