काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा मोर्चाका प्रभावशाली नेता राजेन्द्र महतोको आलोचना भएको छ। सोमबार तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको मोर्चाको बैठकमा महतोका पछिल्ला भनाईले मधेस आन्दोलनलाई ठूलो क्षति पुगेको निष्कर्ष निकालिएको छ। मोर्चाले औपचारिकरुपमा नै महतोका गतिविधिले आन्दोलन पछि धकेलिएकोले यस्ता कार्य नगर्न निर्देशन दिने समेत निर्णय गरेकोछ।सोमबार विहान समेत मोर्चा नेताको अनौपचारिक बैठक बसेको थियो। ठाकुरकै निवास लोकन्थलीमा मोर्चाका चारै जना शीर्ष नेता उपस्थित थिए। बिहानको बैठकले नै औपचारिक निर्णय लिन दिउँसो बैठक बस्ने निर्णय गरेको थियो तर दिउँसो बसेको औपचारिक बैठकमा महतो अनुपस्थित थिए। बैठक पछि जारी विज्ञप्तिमा उनको नाम उल्लेख गरे पनि उनको हस्ताक्षर छैन। ‘महतो जी सँगकै सल्लाहमा दिउँसोको बैठक राखिएको थियो, तर बैठकमा उहाँ आउनु भएन’ मोर्चाका नेता महेन्द्र यादबले नागरिकन्युजसँग भने। के कारणले महतो बैठकमा सहभागि भएनन् भन्नेबारे आफूलाई कुनै जानकारी नभएको यादबले बताए।बिहानको बैठकमा मोर्चाका नेताहरुले चर्को आलोचना गरेका थिए। विहार भ्रमण पछि महतोले वीरगन्ज नाका खुल्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनको सो अभिव्यक्ति पछि अचानक वीरगन्ज नाका खुलेको थियो। वीरगन्ज नाका खुलेको जस महतोले लिन खोजेको भन्दै मोर्चा भित्र असन्तुष्टि बढेको थियो।मोर्चा बैठकले आन्दोलन जारी रहेकै बेलामा आन्दोलन फिर्ता लिएको वा आन्दोलनरत शक्ति पराजित भएको भनि सरकारले प्रायोजित प्रचार गरेको भन्दै आक्रोस व्यक्त गरेको छ। मोर्चाले आफ्ना मुद्दा सम्वोधन नभएसम्म आन्दोलन जारी रहने भन्दै कार्यक्रम समेत घोषणा गरेको छ।सरकारले कृतिम अभाव सृजना गरेर सरकारी संरक्षणमा कालोबजारी र माफियालाई प्रोत्साहन गरेर अर्थतन्त्रलाई कालोबजारी गरेको आरोप लगाएको छ।

 

तपाईको प्रतिक्रिया