
जनकपुरधाम—धनुषामा नेपाली काँग्रेसका नेताको हत्यासम्बन्धी अनुसन्धान गर्न प्रहरीले विशेष छानबिन टोली गठन गरेको छ। अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको नेपाली काँग्रेसका नेता राजेन्द्रप्रसाद यादव, घाइते भएका नसिम राइन र रामसोगारथ मुखियाको घटनासम्बन्धी छानबिन गर्न प्रहरीले विशेष अनुसन्धान टोली गठन गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलको संयोकत्वमा विशेष छानबिन टोली गठन गरेको छ। टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि तथा जिल्लास्थित सबै सुरक्षा निकायका प्रतिनिधि रहेको प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए।उनले चाँडै नै घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरे। शुक्रबार राति ९:३० बजे पूर्वी धनुषाको बालाबाखर–४ बस्ने अन्दाजी ४५ वर्षीय काँग्रेस नेता यादवको गोली प्रहार गरी अज्ञात समूहले हत्या गरेको थियो। यसैगरी, शनिबार बिहान पूर्व–पश्चिम राजमार्ग सडकखण्डको वीरेन्द्रबजारमा बुथ प्रतिनिधि राइन तथा मुखिया गोली प्रहारबाट घाइते भएका थिए। रासस