सुजिता हमाल, ३१ बैशाख
स्थानीय शान्ति समिति चितवनमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले सञ्चालन गरेको उजुरी सङ्कलन कार्यमा हालसम्म १६२ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि १५३ र बेपत्ता छानबिन आयोगका लागि नौवटा उजुरी परेको स्थानीय शान्ति समिति, चितवनले जनाएको छ । समितिका कार्यालय सचिव लक्ष्मी गौतमका अनुसार आयोगले सञ्चालन गरेको उजुरी सङ्कलनका लागि सुरुमा खासै उजुरी नपरे पनि पछिल्ला समयमा उजुरी पर्ने क्रम बढिरहेको छ । चितवनमा सरकारबाट सूचीकृत द्वन्द्वपीडितहरु ६८६ जना रहेका छन् । जसमध्ये मृतक ३३८, बेपत्ता ३८, अपाङ्ग १६८, अपहरण ९२, विस्थापित ५० जना रहेका छन् । यो सङ्ख्या बढ्न सक्ने स्थानीय राजनीतिक दलहरुले बताएका छन् । द्वन्द्वलाई शान्तिपूर्ण अवतरणपछि समयमा विस्थापितको लगत सङ्कलनमा समस्या देखिए पनि अहिलेको समयमा त्यस्तो नहुने स्थानीय शान्ति समिति, चितवनका संयोजक बद्री तिमिल्सिनाले बताए ।