शिशिर सिंखडा
चितवन, रत्ननगर ३० असार ।
पूर्वी चितवनको रत्ननगरमा आयोजित वडा नं. ८ को वातावरण मैत्री घोषणा कार्यक्रममा वक्ताहरुले मन्तव्य व्यक्त गरिरहदा कार्यक्रम स्थलमा पुगेका लोक तथा दोहोरी गायक मिलन लामालाई कार्यक्रम संचालक महेश पाण्डेले मञ्चमा के बोलाउन भ्याएका थिए दर्शकदिर्घाबाट गडगडाहट ताली बज्यो । उनी मञ्चमा पुगेर माइक्रोफोन समाउँदै ः
दरबार जस्तो घर भएनी के काम लाग्यो चन्द्रिका
छोरी गए अष्ट्रेलिया छोरा अमेरिका
जति जति धेरै पढ्यो उती उती टाढा
माया मात्रै भो गाढा
के गाउन मात्र भ्याएका थिए मञ्चमा रहेका र दर्शकदिर्घाका सबैले पुनः गडगडाहट ताली ठोके र सबैलाई भावविभोर समेत बनाए । छोरा छोरी पढायो, बढायो विदेश जान्छन्, विदेशी जस्ता हुन्छन् । घरपरिवार, गाउँ, देश बिरानो हुन्छ । पढेलेखेका राम्रा विदेशिए पछि देशको भविष्य के होला सबैको चिन्ताको विषय हुनुपर्ने उनले बताए । पहिला हामी सबैको घर मैत्रीपूर्ण हुनुप¥यो उनले भने । घरमा अधिकांशका बुढा बा आमा मात्र छन् अनि कसरी देश विकास र परिवर्तन हुन्छ । नेपालीहरु विदेशिने क्रम जतिसक्दो छिटो रोक्नुपर्छ उनले थपे । वातावरण मैत्री हुन बोटबिरुवा, सफासुग्घर मात्र होइन हाम्रो मन पनि मैत्रीपूर्ण हुनुपर्छ । ३०–४० वर्ष पहिले चितवनको बस्ती पातलो थियो । हाम्रो छेवैमा रहेको हाइटेन्सन लाइनले धेरै विकिरण फालेको छ, यसलाई पनि वातावरण मैत्री बनाउनु पर्छ । यसको यथोचित तरिकाले व्यवस्थित गरिनु पर्छ उनले थपे । यति भनिसके पछि उनले
यसै त गरिब देश हाम्रो सानो छ
फुटेर हैन जुटेर जानु छ
लालबन्दीको बन्दागोभीलाई
पहाडमा दिऊँ माया कुर्ता र धोतीलाई
मधेश तराईमा ढाका टोपीलाई
गायक लामाले आफ्ना गीत मार्फत् देश विखण्डन तर्फ गएकोले सबै चनाखो भई राष्ट्र र राष्ट्रियता प्रति सजग हुन आग्रह समेत गरे ।
“हामी सबैको एउटै रहर, बनाऔं पूर्ण हरियाली हाम्रो रत्ननगर” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोख्रेलले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा स्थानीय विकास अधिकारी पोख्रेलले पृथ्वी कुनैपनि बेला बस्न योग्य नहुन सक्ने भएकोले वातावरणलाई असर पु¥याउने खालको कार्यहरु बन्द गर्नुपर्ने बताए । प्लाष्टिकजन्य वस्तुहरु सबैभन्दा हानिकारक हुने भएकोले यसलाई सहि तवरले उत्सर्जन गर्नुपर्ने उनले बताए । चितवनवासी सबै मिलेर वातावरण मैत्री जिल्ला बनाउन समेत सहयोग गर्न उनले आग्रह गरे । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख तेजेन्द्र नाथ लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । रत्ननगर वडा नं. ८ मा १ हजार ८ सय ५ घरधुरी रहेको छ । सो वडामा २० वटा टोल विकास संस्था रहेका छन् । घोषणा कार्यक्रम अगाडि वडावासीहरुले ¥याली सहित वडा परिक्रमा गरेका थिए । कार्यक्रममा सबै टोललाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस रत्ननगर सभापति रुपनराज घिमिरे, नेकपा एमाले नगर इञ्चार्ज नारायण वन, नेकपा माओवादी केन्द्रका प्रतिनिधि इन्द्र प्रसाद ढकाल, खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत अमरनाथ ढकाल, नेपाल टेलिकम रत्ननगर शाखा प्रमुख हरिश्चन्द्र खनाल, वडा नागरिक मञ्चका अध्यक्ष शिवकान्त पौडेल, पूर्व तयारी समिति कार्यक्रम संयोजक भोजराज लामिछाने, लाइसियम आवासिय मा.वि. का प्रिन्सिपल डा. वसन्तराज अधिकारी, रत्ननगर नगरपालिका वातावरण अधिकृत सन्ध्या रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।