
१ भाद्र,रत्ननगर, चितवन ।
नेपालीको आवाज अनलाईन न्युज डेस्क
तामाङ पत्रकार तथा सञ्चारकर्मीहरु पेशाबाट पलायन हुदै जाने क्रमलाई रोक्नुपर्नेमा चितवनका तामाङ पत्रकारहरुले जोड दिएका छन । २२ औ तामाङ प्रसारण दिवसको अवसरमा बुधबार रत्ननगरमा भएको छलफलमा सहभागी भएका उनीहरुले यस्तो बताएका हुन । छलफलमा सहभागी तामाङ सञ्चार समुह चितवनकी उपाध्यक्ष सरस्वति लामाले पेशालाई निरन्तरता दिन नसक्नु नै आफुहरुका लागि मुख्य चुनौति भएको बताइन् । उनले चितवनको पत्रकारितामा तामाङहरु न्युन रहेको र भएकाहरुले पनि पेशालाई निरन्तरता दिन मुस्किल परिरहेको उल्लेख गरिन् । तामाङ समुदायमा पत्रकारिताबारे ज्ञानको कमी र सञ्चारगृहबाट चित्तबुझ्दो पारिश्रमिक पाउन कठिन जस्ता समस्याले यस्तो अवस्था आएको उनको भनाई छ । छलफलमा तामाङ सञ्चार समुह चितवनका सचिव ज्ञानेन्द्र तामाङले जिल्लामा अहिले तामाङ पत्रकारिताको बिषयमा चर्चा गरेका थिए । उनले तामाङहरु पत्रकारितामा सक्रिय भइदिए जातीय एवं आदिवासी समुदायको अवाज बुलन्द पार्न सहज हुने भएपनि अहिलेको अवस्था त्यस्तो नरहेको बताए । तामाङ पत्रकारका लागि स्रोत, साधन र अवसरको समेत कमी रहेको उनको भनाई छ । अर्का सञ्चारकर्मी एवं ब्यवसायी राजेश रुम्बाले मुलधारको पत्रकारितामा तामाङहरुले प्रतिस्पर्धा गरि स्थापित हुन सक्नुपर्ने धारणा राखे । यसका लागि आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको उनले बताए । छलफलमा चितवनका क्रियाशिल एक दर्जन तामाङ पत्रकारहरु उपस्थिति थिए । रेडियो नेपालबाट पहिलोपटक २०५१ साल भदौ १ मा तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा मनाउदै आएको तामाङ प्रसारण दिवसको अवसरमा छलफल गरिएको हो । प्रसारण दिवसको अवसरमा तामाङ सञ्चार समुह चितवनले सबैमा शुभकामना समेत दिएको छ ।