१७ भाद्र , चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
चितवनमा रहेका निषाद समुदायले सहज रुपमा माछा मारेर परिवार पाल्न सक्ने वातावरण मिलाई दिन सरकारसंग माग गरेको छ ।
निषाद उत्थान केन्द्र चितवनले आज रत्ननगरमा पत्रकार सम्मेलन गरि यस्तो माग गरेको हो । निषाद उत्थान केन्द्रले सुरु गरेको मेची–महाकाली निषाद जागरण महाअभियान अन्तरगत निषाद समुदायले आफ्नो उद्देश्य र माग बारे जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै निषाद उत्थान केन्द्रका महासचिव ध्रुपलाल प्रसाद सहनी (निषाद)ले निषाद समुदायलाई सचेत बनाउँदै यसको उत्थानको लागि अहिले मेची–महाकाली अभियान जारी राखेको जानकारी दिनुभयो । उहाँले देशका विभिन्न शाखाहरुको अवस्था बुझेर समस्या समाधानका लागि केन्द्रीय समितिले लागि परिरहेको जानकारी दिनुभयो । उहाँले माछा मारेर जिविकोपार्जन गर्दै आईरहेको यस समुदायलाई सरकारले उच्च प्राथमिकतामा राखेर सहज जीवन यापनका लागि वातावरण बनाईदिनुपर्ने बताउनुभयो ।
केन्द्रका चितवन अध्यक्ष प्रभु निषादले आफूहरुले माछा मारेर जिविकोपार्जन गर्दै आईरहेको भन्दै सरकारले कडाई गरि आफूहरुको जिविकोपार्जन गर्ने क्षेत्र नै खोसेको दुखेसो पोख्नुभयो । उहाँले यहाका नदिहरुमा सहज रुपमा माछा मार्ने व्यवस्था मिलाई दिन माग गर्नुभयो । उहाँले हाल चितवनमा रहेका माछा पोखरी ठेक्कामा लिएर माछा मार्दै जिविकोपार्जन गरिरहेको जानकारी दिनुभयो । यस्तै केन्द्रका चितवन सल्लाहकार छोटेलाल निषादले आफूहरुको माछा मार्ने क्षेत्र नै संकटमा परिरहेको अवस्थामा सरकारले माछा मार्ने व्यक्तिहरुलाई दिन लागेको अनुदान समेत आफूहरुले नपाएको गुनासो गर्नुभयो । उहाँले यस्तो अनुदान गैर मान्छेहरुले पाएको भन्दै सही मान्छेलाई दिनुपर्ने माग गर्नुभयो ।
चितवनमा हाल यस समुदायका व्यवसायिक सिलसिलामा करिव ४ हजारको हाराहारीमा छन् भने करिव १० घर भने स्थायी रहेका छन् । चितवनको माडी, टाँडी र चैनपुर क्षेत्रमा यस समुदायको बसोबास रहेको छ ।