1
शिशिर सिंखडा
९ फागुन, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

जिल्ला प्रहरी कार्यालय चितवनद्वारा पूर्वी चितवनको रत्ननगर –१, बकुलहरमा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ । प्रहरीले ३–३ महिनामा आफुले गरेका कामहरुको जानकारी गराउने र स्थानीयको गुनासा सुन्ने उद्देश्यले सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा महिला अधिकारकर्मी बिमला दुवाडीले क्षमता भन्दा बढी यात्रु राखेर सार्वजनिक सवारी संचालन भईरहेकोले सो तर्फबाट प्रहरीले निगरानी गर्नुपर्ने बताईन् । त्यस्तै नेकपा एमालेका जिल्ला सचिवालय सदस्य विनोद रेग्मीले हरेक नगरपालिकामा इलाका प्रहरी कार्यालय स्थापना गर्न जोड दिँदै पूर्वी चितवनको कालिका नगरपालिका, शक्तिखोर र सिद्धि जस्ता पहाडी क्षेत्रमा प्रहरीको पहुँच कमि भएको गुनासो व्यक्त गरे । कार्यक्रममा पदमपुर सामुदायिक वनका उपाध्यक्ष बीर बहादुर श्रेष्ठले मालपोत कार्यालयमा हुने अनियमितता र अनावश्यक भीडभाड तर्फ प्रहरी सचेत हुन अनुरोध गरे ।
2
खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भण्डारीले लागु औषध र ट्राफिक जनचेतनाको बारेमा स्कुल, कलेजमा सचेतना फैलाउन अनुरोध गर्दै सवारी चालक अनुमति पत्र नभएका युवायुवतीहरुले सवारी साधन चलाएकोमा प्रहरी र ट्राफिकले निगरानी बढाउन अनुरोध गरेका थिए । कार्यक्रममा लायन्स क्लवका एरिया को–चिफ निरज श्रेष्ठ, टोल विकास संस्था समन्वय समितिका सचिव प्रताप डल्लाकोटी, रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजाराम रेग्मी, कालिका आमा समूहकी अध्यक्ष लक्ष्मी अधिकारी लगायतले जुवातास, घरेलु मदिरा नियन्त्रण र चोकचोकमा जुवाको रुपमा खेलिने पोट (लुडो) नियन्त्रण गर्न प्रहरी परिचालन हुनुपर्ने सुझाव दिएका थिए ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले स्थानीयको गुनासाहरुलाई मध्यनजर गर्दै तत्काल प्रहरीले आफ्नो भूमिका चनाखो रुपमा निर्वाह गर्ने बताए । प्रहरी मेरो साथीलाई निरन्तरता दिई जुवातास, अवैध घरेलु मदिरा नियन्त्रण, सवारी चेकजाँच तथा मापसे अभियानलाई कडाईका साथ नियन्त्रण गरिने थापाले बताए । प्रहरीको क्यूआरटी टोली २४सैं घण्टा सक्रिय रहेको बताउँदै थापाले जिल्लामा प्रहरी दरवन्दी आवश्यकता अनुसार पुरा नभएकोले समेत जिल्लाको शान्ति सुरक्षामा समस्या भएको बताए । आवश्यक दरवन्दी उपलब्ध गराउन आफुले केन्द्रमा पहल गरेको समेत उनले बताए । प्रहरी ऐन २०१२, सरकारी मुद्दा ऐन २०४९ अन्तर्गत रही कुनैपनि गैरकानुनी कार्य गर्नेलाई कानुनी दायरामा ल्याई कारवाही गर्न प्रहरी प्रतिवद्ध रहेको प्रहरी उपरीक्षक थापाले बताए । नागरिक सुनुवाई कार्यक्रममा मात्र नभई अन्य समयमा पनि प्रहरीलाई घटना, दुर्घटनाको सूचना दिएमा प्रहरीले तत्काल सुरक्षा प्रत्याभुति दिने समेत थापाले बताए । सो कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय भरतपुरका प्रमुख सन्तोष पन्तले स्थानीय एवम् व्यवसायी तथा सवारी चालकको साथ र सहयोगले मात्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भएकोले प्रहरीलाई साथीको रुपमा लिई सहयोग गर्न उनले अनुरोध समेत गरेका थिए । सो नागरिक सुनुवाई कार्यक्रममा विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, नगरपालिकाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, व्यवसायी, यातायात व्यवसायी, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया