८ पौष, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
अमेरिकामा बस्ने नेपालीले दिए १० करोडको प्रविधि
काठमाडौं–नेपालबाट बर्षेनी ११ हजारभन्दा बढी चेलीबेटी भारतमा बेचिन पुग्छन् । दलाल र आफन्तबाटै बेचिन पुग्ने ती चेलिको खोजीमा माइती नेपाल सक्रियतापूर्वक लाग्दै आएको छ । माइती नेपालका स्वयंसेवकहरु नेपालका सीमा नाकामा दलाल र हराएका चेलिबेटीको फोटो बोकेर आवतजावत गर्नेको अनुहार हेर्दै हिँडिरहेका हुन्छन् ।
अब माइती नेपालका भोलन्टियरहरु प्रविधिले सुसज्जित हुने भएका छन् । उनीहरु स्मार्ट फोन बोकेर हिँड्नेछन् । सीमामा संकास्पद ब्यक्तिलाई भेटे मोवाइलमा फोटो खिच्ने छन् । त्यसरी खिचिएको फोटो माइती नेपालको केन्द्रीय सर्भरमा रहेका हजारौंको संख्यामा रेकर्ड गरिएका चेलिबेटी बेचविखनमा संलग्न अपराधिहरु, बेपत्ता भएका चेलिबेटी, बालबालिकालगायतको फोटोसँग मोवाइल एपले आफैं दाँज्ने छ । यसरी कुनै दलाल वा हराएका चेलिबेटीसँग फोटोसँग भेटिएको ब्यक्तिको फोटो मिले एपले केही सकेन्डभित्रै जानकारी दिने छ । त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउन एपले प्रहरीमा जानकारी दिने छ ।

प्रविधिले फड्को मारिरहेका बेला माइती नेपालका स्वयंसेवक फोटो बोकेर मान्छे खोज्दै हिँडेको देख्दा एउटा नेपालीको हृदयमा यसले छोइरहेको थियो । झण्डै २२ बर्षदेखि अमेरिका बसेर सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका नेपाली युवा समिर पन्थीले माइती नेपाललाई प्रविधिमा केही योगदान गर्न सकिन्छ कि भनेर सोचिरहेका थिए । अमेरिकामा बसेर अध्ययन गरिरहेका उनका दुई जना भारतीय साथीहरु स्वदेश फर्केर प्रविधिको विकासमा खटिइरहेका थिए । उनीहरुले अनहार चिन्ने प्रविधि विकास गरेको पन्थीले थाहा पाए ।
त्यसपछि पन्थी ती साथीहरुलाई भेट्न भारत आए । उनीहरुले विकास गरेको प्रविधि आर्टिफिसियल इन्टेलिजेन्सका रुपमा निकै उपयोगी लाग्यो पन्थीलाई । उनले चेलिबेटी बेचविखन रोक्न सक्रिय रहेको माइती नेपाललाई यस्तो प्रविधि उपलब्ध गराउन सहयोग गर्न ती दुई भारतीयलाई प्रस्ताव गरे । उनको प्रस्ताव स्वीकृत भएपछि उनीहरु माइती नेपालसँग कुरा गर्न नेपाल आए ।
प्रविधि निकै उपयोगी थियो । त्यसैले माइती नेपालले नस्वीकार्ने कुरै थिएन । यसपछि अमेरिकामा नाउ ट्राकइट कम्पनी चलाइरहेका पन्थीले आफ्नो कम्पनीका तर्फबाट उक्त प्रविधि भर्खरै माइती नेपाललाई हस्तान्तरण गरेका छन् । अमेरिकामा सूचना प्रविधिका क्षेत्रमा विभिन्न प्रकारका एप, सफ्टवेयर डेभलप गर्दै आएका पन्थीले आर्टिफिसिएल इन्टेलिजेन्सको माध्यमद्वारा अनुहारको पहिचान गर्ने प्रविधि निःशुल्क हस्तान्तरण गरेका हुन् ।
‘खोजी’ नाम दिइएको यस एपको माध्यमले पीडित र पिडकको पहिचान गरी पीडितको उद्धार गर्न र अपराधीलाई कानूनको घेराभित्र ल्याएर दण्डीत गर्न सहज हुनेछ । यस कार्यबाट सम्भावित पिडीतको अग्रिम बचाउ हुनका साथै पिडीतलाई पनि उद्धार गर्न सकिन्छ । यस एपले हराएका बालबालिकालाई साथै बोल्न नसक्ने र मानसिक रोगीहरुलाई पनि समस्याबाट मुक्ति दिलाउन मद्दत गर्ने पन्थीको दावी छ ।
खोजी एपले फोटो नभएकाहरुको नजिकका आफन्तसँग मिल्ने अनुहारसमेत पत्ता लगाउँछ । यसले उही ब्यक्ति हो हैन भन्ने छुट्याउन सहज हुन्छ ।
नाउट्राकइट कम्पनीले माइती नेपालको नेपाल–भारत नाकामा रहेका आवधिक गृहका कर्मचारीहरुलाई ’खोजी’ मोवाइल एप इन्स्टल भएको मोवाइल फोन निःशुल्क उपलब्ध गराएको छ । यसको प्रयोगबारे सम्बन्धित कर्मचारीहरुलाई तालिमसमेत प्रदान गरेको छ । परम्परागत उजुरी गर्ने प्रक्रियालाई छोट्याउन र तत्कालसबै ठाउँमा उजुरी पुर्याउन इन्ट्नेटमा आधारित रिपोर्टिङ पोर्टलसमेत कम्पनीले निशुल्क बनाइ दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पन्थीले बताए ।
माइती नेपाल यस्तो प्रविधि प्रयोग गरेर अपराधी तथा  हराएका चेलीहरु खोज्ने विश्वकै पहिलो सामाजिक संस्था भएको पन्थीको दावी छ । नाउट्राकइट कम्पनीले नेपाल प्रहरीसँग समेत अपराधीको खोजी गर्न यस्तो प्रविधि प्रयोगमा ल्याउन छलफल गरिरहेको जनाएको छ । भारतमा समेत तामिलनाडु प्रहरीका अधिकृतहरुले यस प्रविधिको प्रयोग गरिहेको उनले बताए । अन्यत्र यस्तो प्रविधि उपलब्ध गराउँदा आफ्नो कम्पनीले १० लाख डलर (करिव १० करोड रुपैयाँ) शुल्क लिने पन्थीले बताए ।
माइती नेपालकी संस्थापक अनुराधा कोइराले हराएका चेली र अपराधी पत्ता लगाउन खोजी एप निकै उपयोगी हुने बताइन् । हामी पहिलो पटक प्रविधिले सुसज्जित भएका छौं, उनले भनिन्, ‘अब अपराधिभन्दा हाम्रा स्वयंसेवक अगाडि हुनेछन् ।’ माइती नेपालका निर्देशक विश्वराम खड्काले अब चेलिबेटी बेचविखन रोक्न प्रविधि प्रयोग गर्न पाएकामा खुशी लागेको बताए ।

तपाईको प्रतिक्रिया