चितवन,पुस १० –

उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आगामी पुस २५ गतेबाट चितवन महोत्सव शुरु हुने भएको छ जुन माघ ४ गते सम्म सञ्चालन हुनेछ । सङ्घले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । नारायणी नदी किनारमा १२ औँ संस्करणका रुपमा महोत्सव आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो । महोत्सव विसं २०५३ सालदेखि प्रत्येक दुई÷दुई वर्षमा हुँदै आएको छ ।

उद्योग वाणिज्य सङ्घ–चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन हुने चितवन महोत्सवमा छ विशेषसहित ५०० स्टल रहने छन् । महोत्सवमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित गोष्ठी आयोजना गरिनेछ । प्रधानका अनुसार सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी पर्यटनलाई केन्द्रबिन्दुमा राखी विभिन्न क्रियाकलाप आयोजना गर्दैछ । चितवनभित्रका पर्यटकीय गन्तव्यको संक्षिप्त जानकारी तथा तस्वीर समावेश गरी पर्यटक पथप्रदर्शक किताब नेपाली र अङ्ग्रेजीमा प्रकाशन गरिने बताइएको छ ।

जिल्लाको पर्या पर्यटन झल्किने, राष्ट्रिय अन्तर्राष्ट्रिय जनावरको प्रतिमूर्ति समावेश गरिएको कृत्रिम चिडियाखाना महोत्सवमा रहनेछ । त्यस्तै कलात्मक प्रवेशद्वार साथै बालुवामा कुँदिएको २० फिट लम्बाइ १० फिट चौडाइको माछाको कलात्मक आकृति रहनेछ । विविध खेलकूद, जलयात्रा, स्वास्थ सेवा, आदिवासी जनजातिको वेषभूषा, कला संस्कृति समावेश गरिएको विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपज प्रदर्शनीको विविधताले यसपटकको महोत्सवमा निरन्तरता पाएको संयोजक प्रधानले बताउनुभयो । महोत्सवमा पोल्ट्री, अटो, सूचना तथा प्रविधि, विद्युत्, मेड इन नेपाल, बैंक तथा वित्तीय संस्था परिसर, रेष्टुराँ, जनजातिको रहनसहन झल्किने घर आदि रहनेछन् । रासस

तपाईको प्रतिक्रिया