५ भदौ,
नेपालीको आवाज अनलाईन न्युज डेस्क
नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमा डेंगुको संक्रमण देखिएको थियो । त्यसको ६ वर्षपश्चात् अर्थात् सन् २०१० मा यस रोगको महामारी नै फैलिएको थियो । अहिले डेंगुको संक्रमण ४९ जिल्लामा फैलिसकेकोले चिकीत्सकले सचेत रहन अनुरोध गरका छन् । बर्खाको समय साउनदेखि कात्तिकसम्म डेंगुको उच्च जोखिम हुने समय मानिन्छ ।
डेंगु रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरूचि बढ्ने, मांशपेशी दुख्ने, पेट गडबडी हुनेजस्ता लक्षण देखिने नारायणी सामुदायीक अस्पताल, भरतपुरका कन्सल्टेन्ट डाक्टर किसोर गौतम बताउछन् । यो रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र उपाय हो ।
घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झूलभित्र सुत्ने, झ्यालढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको संक्रमणबाट बच्न सकिने उनले बताए । डेंगु सार्ने लामखुट्टेले प्रायः जमेको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले कुनै पनि भाँडामा पानी जम्मा हुन दिनुहुँदैन ।