८ भाद्र, काठमाण्डौ,
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
बाल गायक प्रिन्स सिलवालको तेश्रो म्यूजिक भिडियो एक कार्यक्रमका बीच शनिवार सार्वजनिक गरिएको छ । बाबाको माया प्रति समर्पित गीतको काठमाण्डौं ठमेल स्थित भोजन भूमी प्रा.लीको सभाहलमा कवि तथा गीतकार शंकर प्रसाद ( एसपी ) कोइरालाले सार्वजनिक गर्नुभयो । सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार कोइरालाले प्रिन्स सिलवालको आवाजको प्रशंसा गर्नुभयो । गीतका शव्द, भाव, आवाज र दृश्यले बुबा र सन्तानबीचको सम्बन्धलाई प्रष्ट पारेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गीतकार कोइरालाले प्रिन्ससँग भएको प्रतिभालाई अभिभावकले समेत सहजताका साथ बुझ्न सकेको भन्दै प्रिन्सका बुबा आमाको योगदान उच्च रहेको बताउनुभयो । पूर्व अर्थमन्त्री समेत रहनुभएका गीतकार कोइरालाले गीतकारले सृजना गरेको शव्दलाई गायकले राम्रो सँग न्याय गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा रत्न राज्य लक्ष्मी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. हरि सिलवालले गायक सिलवाल समाज भित्रको तारा भएको बताउनुभयो । प्रिन्सको गीतले वेग्लै खालको सन्देश दिनेमा आफु ढुक्क भएको दावी समेत गर्नुभयो । कार्यक्रममा अभिनेता सरोज खनालले बुबाप्रतिको सम्मानका लागि आफुले यो गीतमा अभिनय गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो । बुबाप्रति समर्पित यो गीतले समाजमा बेग्लै अर्थ राख्ने प्रतिकृया दिनुभयो । चितवनका गायक र म पनि चितवने भएर मात्रै नभई गीतमा पावर भएकाले पनि आफुले यो गीतमा अभिनय गर्न राजि भएको प्रतिकृया दिनुभयो ।
भूकम्पले धनजनको क्षति मात्रै गरेन त्यसले कयौंको सपना समेत उडाएको विषयलाई गीत मार्फत दर्शक सम्म ल्याउने प्रयास भएको गीतकार भवानी अधिकारीले बताउनुभयो ।
कार्यक्रममा कोलोम्बस स्कुलकी प्रिन्सीपल मुना सिलवाल, पर्यटन व्यवसायी केशव पाण्डे, प्रिन्सका बुबा रमेश सिलवाल, आमा प्रतिभा पाण्डे सिलवाल लगायतले बोल्नुभएको थियो । गीतका निर्देशक राजेन्द्र पाण्डेको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।
वन वल्ड प्रोडक्सनको प्रस्तुती रहेको यो म्यूजिक भिडियो मलेखु, जलवीरे, सौराहा लगायतका क्षेत्रमा छायांकन गरिएको छ । राजेन्द्र पाण्डे र राजकुमार तामाडले निर्देशन गर्नुभएको यो गीतको छायांकन राजेन्द्र पाण्डे र सन्तकुमार चौधरीले गरेका हुन । सम्पादन भने लोकन्द्र सुब्बाले गरेको हो ।
भवानी अधिकारीको रचना रहेको यो गीतलाई युवा संगीतकार प्रेम घिमिरेको संगीत दिएका छन भने संगीत संयोजक दिनेश न्यौपानेले गरेका छन् । गीतमा गायक सिलवाल र अभिनेता सरोज खनालले अभिनय गरेका छन् । यस अघि गायक सिलवालको दशै मनाउने हो…चंगा उडाउने हो र न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया बोलको गीत सार्वजनिक भइसकेको छ ।