
९ भाद्र चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा व्यवस्थामा कडाई गरेको छ। शान्ति सुरक्षालाई ध्यानमा राख्दै सोमबारदेखी जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ । आइतबार राती बसेको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमूख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा उल्लेख गरिएको छ।
सोमबार बिहान ६ बजेदेखी अर्को आदेश नआँदासम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरिएको हो।
निषेधित किल्लाको रुपमा पूर्वमा बाइपास सडकतर्फको आन्तरिक राजश्यक कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिममा लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालको चोकदेखि चौबीस कोठीसम्म, उत्तरमा आन्तरिक राजश्यक कार्यालयको चोकदेखि पुरानो मेडिकल कलेज जाने चोकसम्म र दक्षिणमा बाइपासतर्फको घरेलु कार्यालयको चोकदेखि सप्तगण्डकी अस्पताल चोकसम्मलाई तोकिएको छ ।
आजमात्रै रवि समर्थक र प्रहरीबीच झडप हुँदा दुबै तर्फका गरी एक दर्जनबढी घाइते भएका थिए।
सुरक्षा व्यवस्थामा चुनौति देखिन थालेपछि नागरिकको जिउधनलाई ध्यानमा राख्दै शान्ति, सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो आदेश गरिएको प्रमूख जिल्ला अधिकारी बस्नेतले बताए।