चितवनमा डेङ्गु र स्क्रवटाइफसको महामारी, तीनको मृत्यु, सजग रहन चिकित्सकको आग्रह (भिडीयो सहित)

१२ भाद्र, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क

डेङ्गु र स्क्रवर्टाफसका कारण चितवन जिल्लामा तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । कार्यालयले बुधवार पत्रकार सम्मेलन गरी साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ र स्क्रवटाइफसका कारण एक युवाको मृत्यु भएको जानकारी दिएको हो । यस्तै दुवैको सङ्क्रमणबाट एक किशोरीको मृत्यु भएको कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगररपालिका–१ गङ्गोत्री मार्ग निवासी ७१ वर्षीय पुरुषको डेङ्गुको कारण मृत्यु भएको छ । यस्तै रौतहटका ३४ वर्षीय पुरुषको स्क्रवटाइफस र भरतपुर महानगरपालिकाको शुक्रनगर निवासी १६ वर्षीय किशोरीको मृत्यु भएको हो । किशोरीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

पत्रकार सम्मेलनमा जिल्लामा डेङ्गुको सङ्क्रमणको प्रकोप देखिएको जानकारी दिइएको थियो । साउनयता एक हजार ३५६ जनाको परीक्षणमा ४३३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो । अझै यसको सङ्क्रमण बढ्दो सङ्ख्यामा रहेको उहाँले बताउनुभयो । सङ्क्रमितहरुमा चितवनमा सबैभन्दा धेरै रहेका छन् । चितवनको पनि भरतपुर महानगरपालिका–१, २, ३, ४, १०, ११ र १२ बढी सङ्क्रमित देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै कार्यक्रममा उपस्थित डा. भोजराज अधिकारीले यस रोगकोको बारेमा मिडीया मार्फत जानकारी दिई सबैलाई सजग रहन सुझाव दिनुपर्नेमा जोड दिएका थिए ।

यसैबीच जिल्लामा स्क्रवटाइफसको सङ्क्रमण पनि बढेको देखिएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार साउनयता ५०६ जनाको परीक्षण गरिएकोमा ४० जनामा सो रोगको सङ्क्रमण देखिएको थियो ।
नेपालमा सन् २००४ मा पहिलोपटक चितवनमा डेंगुको संक्रमण देखिएको थियो । त्यसको ६ वर्षपश्चात् अर्थात् सन् २०१० मा यस रोगको महामारी नै फैलिएको थियो । अहिले डेंगुको संक्रमण ४९ जिल्लामा फैलिसकेकोले चिकीत्सकले सचेत रहन अनुरोध गरका छन् । बर्खाको समय साउनदेखि कात्तिकसम्म डेंगुको उच्च जोखिम हुने समय मानिन्छ ।

डेंगु रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरूचि बढ्ने, मांशपेशी दुख्ने, पेट गडबडी हुनेजस्ता लक्षण देखिने गर्दछ । यो रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र उपाय हो ।

घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झूलभित्र सुत्ने, झ्यालढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको संक्रमणबाट बच्न सकिने उनले बताए । डेंगु सार्ने लामखुट्टेले प्रायः जमेको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले कुनै पनि भाँडामा पानी जम्मा हुन दिनुहुँदैन ।


Facebook Comments