
१६ भदौ, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
नेपालमा सञ्चालनमा रहेका बैंकहरुको साईबर शुरक्षा निकै कमजोर रहेको शनिबार चाईनिज ह्याकरले सजिलै करोडौ नेपाली रुपैया निकालेको घटनाबाट प्रमाणीत भएको छ । शनिबार राति ११ बजे काठमाण्डौको दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमबाट अस्वभाविक रुपमा पैसा झिकिएको जानकारी पाएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी नेतृत्वको टोली तत्कालै दरबारमार्गमा पुगेको थियो ।
प्रहरी दरबारमार्गमा पुग्दा चिनियाँ नागरिक झु लियाङगाङले एटीएमबाट झिकेको पैसा झोलामा खाँद्दै थिए । उनलाई प्रहरीले त्यहाँबाट उम्कन दिएन । प्रहरीले उनीबाट थप जानकारी हात पार्यो र उनलाई नै लिएर अरु एटीएम कार्डबाट अवैध रुपमा पैसा झिक्ने चिनियाँसम्म पुग्यो । हात्तीसारमा रहेको जय नेपाल फिल्म हलनजिकै रहेको होटल माया मनोहर बुटिकमा अरु ४ जना चिनियाँ नागरिक पनि भेटिए । उनीहरु सबै नेपालमा नक्कली एटीएम र पिन प्रयोग गरेर पैसा निकाल्नकै लागि शुक्रबार मात्रै काठमाण्डौ आएका थिए ।
प्रहरी पुग्नुअघि नै उनीहरुले माया मनोहर छाडेर अर्को होटलमा जाने तयारी गरिरहेका थिए । तर प्रहरीले लिफ्टबाटै पक्राउ गर्यो । त्यसपछि उनिहरुका झोला खोलियो । सबै झोला पैसाले भरिएका थिए । केही पैसा बेडमा अनि साना–साना झोलामा थिए ।
प्रहरीले दरबारमार्गका १ जनासहित ५ जनालाई पक्राउ गर्यो । उनीहरुको साथबाट १ करोड २६ लाख रुपैयाँ बरामद भएको छ । यस्तै १ सय ३२ वटा नक्कली भिसा कार्ड र १७ वटा सक्कली भिसा कार्ड पनि बरामद भएको छ । यस्तै उनीहरुको साथबाट १ करोड २६ लाख रुपैयाँसहित अमेरिकन डलर ९ हजार १ सय ८, चिनियाँ मुद्रा ११ सय ९१ युआन, २ सय ५० युरो, क्याम्बोडियन ५ हजार, हङकङ डलर ८० पनि बरामद भएको छ ।
अहिलेसम्म ठ्याक्कै कति रकम झिकियो भन्ने खुलेको छैन । नेपाल राष्ट्र बैंकले अहिलेसम्म १ करोड ६८ लाख रुपैयाँ रकम अनधिकृत रुपमा झिकिएको भेटिएको र थप अनुसन्धान भैरहेको जनाएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी सेवा प्रणालीका कार्यकारी निर्देशक बमबहादुर मिश्रले उनीहरुले कति रकम झिकेका हुन् भन्ने अझै टुंगो नलागेको जानकारी दिनुभयो । चिनियाँहरुले पैसा झिक्नका लागि प्रभू, एनआईसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आईएमई, र सनराइज बैंकको कार्ड प्रयोग गरेका थिए । उनीहरुले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।